२९ माघ २०८२, बिहिबार | Fri Feb 13 2026

नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका–०८२ का ३४ बुँदा : परिपत्रमा केछ ?



नेपाली कांग्रेसले निर्वाचन परिचालन निर्देशिका–०८२ मा ३४ बुँदा समावेश गरेर मातहतका संरचनामा सर्कुलर गरेको छ।

कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको संयोजक पार्टी उपसभापति विश्वप्रकाश शर्मा छन्। उनको नेतृत्वमा रहेको समितिले नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका–०८२ तयार गरेको हो।

निर्देशिकाका बुँदामा आपसी असमझदारी उत्पन्न हुन सक्ने अवस्थामा पनि निर्वाचनका समयमा एकताबद्ध हुनेदेखि मतदाताको विश्वास बलियो ढंगले आर्जन गर्ने तर्फ चुनावी अभियानलाई केन्द्रित गर्न निर्देशन गरिएको छ।

परिपत्रको १ नम्बर बुँदामा भनिएको छ, ञकुनै पनि राजनैतिक दलभित्र काम गर्ने क्रममा कतिपय बिषयमा आपसी असमझदारी उत्पन्न हुन सक्छन्, यो स्वभाविक हो। तर निर्वाचनको समयमा आन्तरिक विमतिका सबै कुरा बिर्सिएर सम्पूर्ण पार्टी पंक्ति एक्यवद्ध हुन जरुरी हुन्छ। यसलाई आत्मसात गर्दै आ–आफ्नो तहमा सबै साथीहरूलाई प्रेरित गर्ने÷गराउने।

यसैगरी दोस्रो बुँदामा ‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ का रूपमा अघि आएको तथ्य मतदाता समक्ष राखेर मतदाताको नवीन विश्वास गाँस्न प्रभावकारी अभियान अघि बढाउन भनिएको छ।

केन्द्रीय समितिको बैठकले सभापति गगनकुमार थापालाई प्रधानमन्त्री पदका लागि सर्वसम्मत रूपले अघि सारेपछि पार्टीको पक्षमा चुनावी माहौल बलियो बन्दै गएको उल्लेख गर्दै तेस्रो बुँदामा यो उम्मेदवारीलाई कुशल ढंगले मतदाता समक्ष स्थापित गर्दै मतदाताको विश्वास बलियो ढंगले आर्जन गर्न तर्फ चुनाव अभियानलाई केन्द्रित गर्न भनिएको छ।

यसैगरी निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पूर्णतः पालना गरेर निर्वाचन अभियानलाई स्वस्थ र मर्यादित बनाउन भुमिका निर्वाह गर्न, निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउने बिषयमा स्थानीय प्रशासनसँग समन्वय र सहकार्य गर्न पनि निर्देशिकामा भनिएको छ भने राष्ट्रिय झण्डाको उच्च सम्मान सदैव गर्नु पर्ने दायित्व बोध पनि गराइएको छ।

यसैगरी निर्वाचन आयोगले तोकेको संख्या र प्रयोगको विधि सबै दल, सबै उम्मेदवार र सबै थरी प्रचारकले पालना गर्न जरुरी रहेको, राष्ट्रिय झण्डाको उच्च सम्मान र उच्च मर्यादा राख्ने सजगता चुनाव अभियान क्रममा कांग्रेसले संवेदनशीलता साथ राख्ने विशय उल्लेख गरिएको छ भने छैठौं बुँदामा विगतमा कांग्रेसको नेतृत्वमा देशले हासिल गरेका राजनैतिक र आर्थिक लगायतका उपलब्धिको टिपोट मतदाता समक्ष बुँदागत रूपमा प्रस्तुत गर्न र आफुले गरेका कामको जगमा चुनाव लड्ने संस्कृतिको विकास गर्न बल पुर्याउने भनिएको छ।

विगतका उपलब्धिप्रति गर्व गरिरहँदा, विगतका कमी–कमजोरीको पहिचान र आत्मसात पनि गरिरहेको भन्दै कांग्रेसले चुनावी मैदानमा कमजोरी सच्याएर अघि बढ्ने प्रतिबद्धता गरिरहँदा, ‘जो बदलिन सक्छ, उसैले बदल्न सक्छ’ भन्ने स्पष्ट गर्न भनिएको छ। कमजोरी पहिचान गरेर नयाँ ढंगले अघि बढ्ने यात्रा प्रारम्भ भइसकेको तथ्यलाई दृढ ढंगले मतदाता समक्ष राख्न निर्देशिकामा भनिएको छ।

यसैगरी पार्टीको प्रतिज्ञा पत्रको ‘भिजन १०’ हाम्रो दृष्टि, दायित्व र गन्तव्य रहेकोले यसलाई मिडिया, सामाजिक सञ्जाल र प्रचार मञ्च मार्फत बुँदागत र बिस्तारित रूपमा मतदाता समक्ष राख्न र निर्वाचनलाई संकल्प र मुद्दा केन्द्रित बनाउन सकारात्मक योगदान गर्न भनिएको छ भने स्थानीय मुद्दाहरू पहिचान गरेर त्यसप्रति पार्टीको प्रतिबद्धता व्यक्त गरिरहँदा ‘चुनाव जित्न जे पनि आश्वासन दिने’ गलत राजनैतिक प्रवृत्तिबाट होईन, स्थानीय नागरिक लाभान्वित हुनसक्ने कोणबाट टुंगोमा पुग्ने लक्ष्य राख्न भनिएको छ।

यसैगरी भौतिक निर्माणका परियोजना बारे कुनै पनि क्षेत्रमा लहडका आधारमा होईन पूरा गर्न सकिने ‘फिजिबल’ र लाभ हासिल गर्न सकिने ‘भायबल’ कोणबाट हेर्न, बुझ्न र टुंगोमा पुग्नुपर्ने भन्दै राष्ट्रिय योजनाहरू बारे केन्द्रको टिमले दृष्टि निर्माण गर्नेछ, स्थानीय परियोजनाका सम्बन्धमा स्थानीय आवश्यकताका आधारमा धारणा निर्माण गर्ने सजगता पार्टीले राख्नुपर्नेछ÷राख्नेछ भनिएको छ।

यसैगरी ‘निर्वाचनको मैदान दुश्मनीको अखडा होइन, विचार र व्यक्तित्व प्रतिस्पर्धाको महायज्ञ हो’ भन्दै कांग्रेसले
चुनाव मैदानमा रहेका कुनै पनि दल या उम्मेदवार नेपाली कांग्रेसका लागि दुश्मन होइनन् भन्ने स्पष्ट बुझाउन परिपत्रमा भनिएको छ। चुनावी प्रतिस्पर्धा क्रममा यो संस्कृतिलाई सबैले आत्मसात गर्न सकुन् भनेर हामीले हाम्रो व्यवहारबाट सन्देश प्रवाहित गर्नु पर्ने भनिएको छ।

नेपाली कांग्रेस आफ्ना प्रतिस्पर्धी पार्टीहरू र तिनका उम्मेदवारहरू बारे स्वस्थ टिप्पणी गर्ने, आलोचना गर्नुपर्दा बिषयगत तर्कका साथ गर्ने तर गाली नगर्ने नीति अख्तियार गर्ने भन्दै निर्वाचनको मैदानलाई स्वस्थ र हार्दिक बनाउने कर्तब्य मुलतः दलहरूकै रहेको, यसमा अन्य सबै दललाई घच्घच्याउने भूमिका समेत कांग्रेसले निर्वाह गर्नुछ र गर्नेछ भनिएको छ।

ञघृणास्पद, उत्तेजक र भड्काउ प्रकृतिका अभिव्यक्ति दिनबाट हाम्रा उम्मेदवार र प्रचारक टाढा रहनेछन्  सामान्य र स्वस्थ प्रकृतिको व्यङ्ग्य निर्वाचन मैदानमा स्वभाविक हुन्छ, तर हाम्रो सार्वजनिक प्रस्तुति सम्पूर्णतः संयमित र परिपक्व रहनेछ।झ १३ नम्बर बुँदामा भनिएको छ।

यसैगरी निर्देशिकामा बदलिएको समयको अपेक्षा र बदलिएको कांग्रेसको संकल्प अनुरुप निर्वाचनको मैदानमा हाम्रा उम्मेदवार र प्रचारकहरूले नवयुवाका मुद्दा, भावना, सोच र सपनालाई आत्मसात गर्नेछन् र ‘युवाका बदलिएका सपनाको सम्बोधन, बदलिएको कांग्रेसको नेतृत्वमा’ भन्ने संकल्प र प्रतिबद्धता व्यक्त गर्नेछन्। भनिएको छ।

चुनाव प्रचार क्रममा असल सांस्कृतिक परम्पराहरूप्रति मर्यादा राख्न उम्मेदवार र प्रचारक प्रतिबद्ध रहने, कसैको पनि धार्मिक आस्थालाई चोट पुग्ने शब्द प्रयोग या ब्यवहार प्रस्तुत विल्कुलै नगर्न र सबै विविधतालाई सम्मान गर्न उम्मेदवार र प्रचारकहरू संवेदनशील रहनेछन् र सजगता राख्न भनिएको छ।

यसैगरी स्वतन्त्र प्रेसको सम्मान र मिडिया मैत्री व्यवहार नेपाली कांग्रेसको आधारभूत मान्यता रहेको भन्दै उम्मेदवार एवं सबै तहको प्रचार समिति संयोजकले निर्वाचन मैदानमा प्रेसका प्रश्न, सुझाव र आलोचनालाई सहज आत्मसात गर्न भनिएको छ। कुनै भ्रमपूर्ण समाचार प्रकाशित भए÷गरिए त्यसलाई स्थापित विधि बमोजिम खण्डन या सम्बन्धित निकायमा ध्यानाकर्षण गर्न पनि निर्देशिकामार्फत निर्देशन गरिएको छ।

यसैगरी चुनावी अभियान ‘फिजिकल’ कम ‘डिजिटल’ बढी हुँदै गएको स्थिति अनुरुप सामाजिक सञ्जालको प्रयोगमा पार्टीका सबै सदस्य जागरुक ढंगले सहभागी हुने उल्लेख गरिएको छ भने ञस्थानीय रूपमा जिम्मेवार टिम मार्फत निर्माण हुने सामग्री प्रयोग गर्नुसँगै, व्यक्तिगत रुपले कुनै प्रचार सामग्री बनाउँदा सम्पूर्णतः मर्यादित सामग्री बनाउनु पर्नेछ÷ बनाउनेछन्।झ निर्देशिकामा उल्लेख छ।

निर्वाचन क्षेत्रमा रहेकोे अनुगमन समितिले आफ्नो क्षेत्रभित्र तथा केन्द्रमा रहेको सामाजिक सञ्जाल अनुगमन समितिले देशव्यापी रूपमा प्रचार सामग्री गुणस्तरको अनुगमन गर्ने, आवश्यक ठहर्दा परिमार्जनका लागि निर्देशनसमेत गर्ने भनिएको छ भने १८ औं नम्बरमा नेपाली कांग्रेस माथि लाग्ने÷लगाइने आरोपहरूलाई तथ्यपूर्ण ढंगले संयम र सहजसँग प्रचार सामग्री र प्रचार सभाहरू मार्फत दृढता साथ स्पष्ट गर्ने कार्य चुनाव प्रचारकहरूले गर्न भनिएको छ।

पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित साथीहरूले आचारसंहिता उल्लंघन नहुने हदसम्म पार्टी र उम्मेदवारसँग समन्वय गरेर विजय अभियानलाई सघाउन, विगतमा विभिन्न कारणवश पार्टी छोडेर गएकालाई पार्टीमा फर्किने क्रम देशव्यापी रुपमा शुरू भएको यथार्थ दृष्टिगत गरेर कुनै पूर्वाग्रह नराखी पार्टीमा भित्र्याउन र उनीहरूलाई आ–आफ्नो प्रभाव एरियामा सकृय हुन आग्रह गर्न भनिएको छ।

२१ नम्बर बुँदामा ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म ‘जसको पदिय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्न भनिएको छ भने केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारी साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि तत्तत् स्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला÷क्षेत्र÷पालिका र वडामा केन्द्रित रहन भनिएको छ।

तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएका बाहेक अरू सबै तहका पार्टी पदाधिकारी र सदस्यहरूलाई आ–आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहन, एउटा वडाका साथीहरू सदस्य अर्को वडामा नगएर ‘हाम्रो वडा हामी जिताउँछौ’ उद्घोष साथ आ–आफ्नै वडामा खट्न पनि भनिएको छ।

यस्तै पार्टीका कृयाशिल सदस्यहरूले ५ स् ५० को रणनीति अनुरूप चुनावी अभियानमा कार्य गर्न, अर्थात् आफ्नो भूगोलको ५० घरपरिवारसँग टिम बनाएर ५ कृयाशिल सदस्य निरन्तर सम्पर्कमा रहन, स्थानीय वडा टोलमा पछिल्लो समय सकृयतापूर्वक अघि आएकाहरू समेतको सहभागिता रहने त्यस्तो टिमले जिम्मेवारीको ५० घरमा प्रचार सामग्री पुर्याउने र मतका लागि प्रेरित गर्ने कार्य गर्न भनिएको छ।

कांग्रेसले निर्देशिकामा ‘मतदाता शिक्षा’ को दायित्व सरकारको मात्रै नरहेको भन्ने यथार्थ मनन गर्दै पार्टीको स्थानीय तहका नेताकार्यकर्ताहरूलाई प्रचार–प्रसार सँगसँगै मतदाता शिक्षाको कार्यमा जिम्मेवारी बाँडफाँड गरेर समर्पित ढंगले लाग्न भनिएको छ।

य्स्तै भ्रातृ÷शुभेच्छुक र जिल्ला सम्पर्क समितिले निर्देशिकाको भाव अनुरुपका कार्यसम्पादन आ–आफ्नो संस्थाको जिम्मेवारी क्षेत्रमा गर्न÷गराउन, आ–आफ्नो संगठनको वडा तहसम्म रहेका पदाधिकारी र सदस्यलाई मुलत ‘डिजिटल मुभ’ मा प्रेरित गर्ने, ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ अभियानमा जिल्ला सम्पर्क समिति केन्द्रित रहन निर्देशिकामा भनिएको छ।

विदेश स्थित नेपाली जनसम्पर्क समितिहरुले समग्रमा नेपाल भरिका लागि तथा आफू व्यक्तिगत रूपले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रका लागि समन्वय र प्रचारको कार्य गरिरहँदा बिदेशमा रहेका बढिभन्दा बढी नेपालीको सम्पर्कमा पुग्न पनि निर्देशिकामा भनिएको छ।

परिपत्रमा मानव बेचबिखन, जातीय विभेद, बालश्रम, घरेलु हिंसा, लागू औषध दुब्र्यसन लगायतका अनेक सामाजिक विसंगतिको अन्त्य गर्ने संकल्प गर्नु पर्ने, चुनावी अभियानका क्रममा उम्मेदवार र प्रचारकहरूले यो बिषयलाई सर्वपक्षीय दायित्वका रूपमा सम्प्रेषण गर्न र सोही बमोजिमको उत्प्रेरणा भर्न कृतसंकल्पित रहन भनिएको छ। प्रचार अभियानमा कहिँ पनि बालबालिका प्रयोग कानून र संस्कार दुवैको विपरीत हुने भन्दै त्यस्तो हुन नदिन पार्टीका सबै तहलाई सजग र संवेदनशील रहन भनिएको छ।

यसैगरी ‘श्रमिक र कृषकको सम्मान, अन्ततः सबैको सम्मान’ भन्ने भावका साथ मत जित्नुअघि मन जित्ने अठोटमा प्रचार अभियानहरुमा संवेदनशील रहन, आगामी संसदबाट विद्यमान संविधानमा आवश्यक संशोधन गरेर यसलाई अझ समयानुकूल र अझ बलियो बनाउन कांग्रेस प्रतिबद्ध रहेकोे तथा निर्वाचनको मैदानमा उम्मेदवार र प्रचारकहरूले यस बारे नागरिक अभिमत गहन आत्मसाथ गर्न भनिएको छ।

प्रचार अभियान अघि बढाउन जरूरी आर्थिक व्यवस्थापन गरिरहँदा स्वतःस्फूर्त सहयोगलाई स्वीकार गर्ने तर कुनै पनि ठूला साना व्यवसायीलाई देशभर कहिँ पनि दबाब नदिन परिपत्रमा भनिएको छ। ‘साझा दायित्व÷साझा स्वामित्व’ बोधका साथ पार्टीका सदस्यहरूको सहभागितामा सहकार्यको निश्चित कोष क्षेत्रमा खडा गरेर चुनावी अभियानलाई भरथेग गर्न, फजुल खर्च नगर्न र चुनाव सकिएको १५ दिनभित्र निर्वाचन आयोगलाई खर्च विवरण उपलब्ध गराउन भनिएको छ।

यसैगरी पूर्व शिक्षक, पुर्व सैनिक, पूर्व प्रहरी, पूर्व कर्मचारी लगायत अवकाश प्राप्त सबैको पछिल्लो जीवनलाई उर्जाशिल बनाएर समाजका लागि सहि उपयोगमा ल्याउन जरुरी रहेको, निर्वाचन प्रचार अभियानका क्रममा देशव्यापी रूपमा यो नेटवर्कलाई व्यापक सम्पर्कमा ल्याउन, जिम्मेवारीमा समेट्न र पार्टीको विजय अभियानमा सकृय बनाउन हरेक निर्वाचन क्षेत्र, पालिका र वडा समितिहरूले निश्चित संयन्त्र बनाएर कार्य गर्न भनिएको छ।

३१ नम्बर बुँदामा केही बर्ष बिदेशमा बिताएर गाउँ फर्किएका हजारौं नेपाली युवा गाउँहरूमा रहेको, अध्ययन, काम या व्यवसायबाट फर्किएकाहरूको गाउँ समाजमा आ–आफ्नै ढंगको सम्पर्क र प्रभाव रहेको, विगतमा पार्टीले निर्माण गरेको पूर्व आप्रवासी विभाग मार्फतको कार्ययोजना बमोजिम पार्टीका स्थानीय नेटवर्क सम्पर्क, समन्वय र परिचालनमा पुग्न भनिएको छ।

यसैगरी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरेको  ‘सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका’ लाई कार्यान्वयन गरेर  पार्टीका कार्यक्रमहरू व्यवस्थित गर्न गराउन पार्टीका सबै तहलाई भूमिका निर्वाह गर्न, विजयी अभियान अघि बढाइरहँदा हरेक निर्वाचन क्षेत्रमा पेशागत क्षेत्र र बुद्धिजीवीहरूको ‘फिड ब्याक’ निरन्तर लिन, प्राप्त सुझावहरूका आधारमा विजय अभियानलाई आवश्यक परिमार्जन र थप व्यवस्थित बनाउन परिपत्रमा भनिएको छ।

यो निर्देशिका कार्यान्वयन गर्ने गराउने दायित्व पार्टीका सबै उम्मेदवार, केन्द्रदेखि वडा टोल तहसम्मका कार्यसमिति पदाधिकारी र सबै सदस्यको हुने भनिएको छ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ६ : १७ बजे