काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्र निर्माणको अभियानमा सहभागी भई लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन औपचारिक रूपमा आफ्नो पार्टीमा आबद्ध हुन सम्पूर्ण इच्छुक महानुभावलाई अनुरोध गरेको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेले शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै सम्पूर्ण इच्छित महानुभावलाई पार्टीमा औपचारिक प्रवेश गरी राष्ट्र निर्माणको अभियानमा जुट्न अनुरोध गरेका हुन् ।
उनले विज्ञप्तिमा बदलिएको समय, रूपान्तरित राजनीतिक चेतना र नयाँ नेतृत्वको स्पष्ट दृष्टिसहित कांग्रेस आज देशलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने दृढ संकल्पमा अघि बढिरहेको जिकिर गर्दै पार्टीका सभापति गगन थापाको नेतृत्वमा काङ्ग्रेसले संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ु यस ऐतिहासिक संक्रमणको घडीमा, वैकल्पिक शक्ति निर्माणमा विश्वास राख्ने, समाजका विभिन्न प्रतिष्ठित पेशा—चिकित्सा, शिक्षा, कानून, उद्योग, सूचना–प्रविधि, कृषि, श्रम तथा नागरिक समाजका क्षेत्रमा सक्रिय भई राजनीतिक पृष्ठभूमिसँग जोडिएर समाज रूपान्तरणमा योगदान गर्न चाहनु हुने सम्पूर्ण महानुभावहरूलाई नेपाली कांग्रेसमा आबद्ध हुन हार्दिक आह्वान गर्दछौं।





