काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरतप्रसाद पराजुलीले पार्टी छाडेका छन्। रास्वपा जानुअघि कांग्रेसमा रहेका पराजुली पुनः पुरानै पार्टीमा फर्किएका हुन्। आज बिहान सर्लाहीमा कांग्रेस सभापति गगनकुमार थापाले पराजुलीलाई कांग्रेसमा स्वागत गरे।
पराजुली २०७९ को प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। मकवानपुरको मनहरी गाउँपालिका निवासी पराजुलीले मकवानपुरको पश्चिम क्षेत्रमा राम्रो पकड रहेको छ । प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट टिकटको प्रमुख दावेदार रहेपनि बालेन शाहको सचिवालयमा काम गरेका प्रशान्त उप्रेतीले टिकट पाएपछि पराजुली असन्तुष्ट बनेका थिए।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै पराजुलीले रास्वपामा बसेर सच्चा राजनीति गर्न नसकिने देखिएकाले कांग्रेसमा फर्किएको बताए । उनले भने, ‘रास्वपाको संगठन विस्तारमा धेरै दुःख गरेँ, तर त्यो पार्टी दुःख गर्नेका लागि होइन रहेछ, ‘पुँजीवादी सोच भएको पार्टीमा बस्न मन नलागेर कांग्रेसमा फर्किएँ।’





