११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026

सामाजिक सुरक्षा कोषमा एक खर्ब दुई अर्ब जम्मा, कहाँ हुन्छ लगानी ?



काठमाडौं । सामाजिक सुरक्षा कोषको खातामा योगदानकर्ताले बुझाएको एक खर्ब दुई अर्बभन्दा बढी रकम जम्मा भएको छ । फागुन १० गतेसम्ममा कोषमा एक खर्ब दुई अर्ब ५४ करोड जम्मा भएको हो ।

०७५ को मंसिर ११ गते सामाजिक सुरक्षा योजनाहरूको औपचारिक आरम्भ भएको थियो । उसले योगदानकर्ताहरूबाट रकम संकलन गर्न ०७६ साउन १ गतेदेखि थालेको हो ।

कोषमा औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको मासिक आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम जम्मा गरिन्छ । यसमा ११ प्रतिशत श्रमिक स्वयंले र २० प्रतिशत रोजगारदाताले बुझाउनुपर्ने हुन्छ । त्यसका अतिरिक्त योगदानकर्ताले आफ्नो इच्छाअनुसार योगदान रकम थप्न पनि सक्छन् । प्रत्येक महिनाको योगदान अर्को महिनाको १५ गतेभित्रै कोषमा जम्मा गरिसक्नुपर्छ ।

कोषमा जम्मा हुने रकम दिनप्रतिदिन बढ्दै गएको हो । कोषका प्रवक्ता कृष्ण अधिकारीले कोषको रकमलाई सुरक्षित राखिएको बताए । उनका अनुसार कोषले सरकारी ऋणपत्र, बन्ड, वाणिज्य बैंकहरूको निक्षेप, म्युचुअल फन्ड, डिबेन्चर आदिमा लगानीसमेत गरेको छ । योगदानकर्तालाई सापटीका रूपमा पनि लगानी भइरहेको छ ।

प्रवक्ता अधिकारीले भने, “कोषमा जम्मा हुने रकम दिनप्रतिदिन बढ्दै गएको छ । कोषमा जम्मा हुने रकमलाई सरकारी ऋणपत्र, बन्ड, वाणिज्य बैंकहरूको निक्षेप, म्युचुअल फन्ड, डिबेन्चर आदिमा लगानीसमेत गरिएको छ । योगदानकर्तालाई सापटीका रूपमा पनि लगानी गरिएको छ ।”

कोषमा श्रमिक वा योगदान कर्ताको विभिन्न क्षेत्र छुट्याएको छ । यसमा औपचारिक, अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारी गरी चारवटा क्षेत्र छुट्याइका छन् । कोषमा आबद्ध हुने योगदानकर्ताले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरेर चारवटा योजनाबाट लाभ लिन सक्नेछन् ।

अहिले कोषमा आबद्ध भएका योगदानकर्ताहरूको संख्या २८ लाख २२ हजार ३३३ पुगिसकेको छ । सूचीकृत रोजगारदाताको संख्या २३ हजार ८४ पुगेका छन् ।

कुल योगदानकर्तामध्ये औपचारिक क्षेत्रका श्रमिकहरू झन्डै ६ लाख ७९ हजार रहेका छन् भने झन्डै २२ लाखजना वैदेशिक रोजगारीमा गएकाहरू रहेका छन् ।

अनौपचारिक क्षेत्रका अनि स्वरोजगारमा रहेकाहरूको हिस्सा थोरै रहेको देखिन्छ । ८५४ जना मात्रै त्यस्ता श्रमिक कोषमा सहभागि भएका छन् भने ८०८ जना स्वरोजगार क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  २ : ११ बजे