सर्लाही – नेपाली कांग्रेस का तर्फबाट सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन कुमार थापा ले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै “सुशासन र समुन्नति” का लागि रुख चिह्नमा मतदान गर्न मतदातासमक्ष अपिल गरेका छन्।
आदरणीय आमा–बुबा, दिदी–बहिनी तथा दाजु–भाइहरूलाई सम्बोधन गर्दै थापाले २००७ सालको क्रान्तिदेखि मधेश आन्दोलनसम्म लोकतन्त्र, पहिचान र अधिकारका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले मधेशको ऐतिहासिक योगदान स्मरण गर्दै सर्लाही–४ लाई राष्ट्रिय प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।
हुलाकी राजमार्ग संवादबाट सुरु भएको यात्रा
थापाले ‘हुलाकी राजमार्ग संवाद’ कार्यक्रममार्फत गाउँबस्तीमा पुगेर स्थानीय समस्या बुझिसकेको उल्लेख गरे। अलपत्र पुल, डुबान, जीर्ण सडक, सिँचाइ र कृषि पूर्वाधारको अभावजस्ता समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने उनको भनाइ छ।
९ बुँदे विशेष अभियान
१.गुणस्तरीय शिक्षा – ‘कापी कलम अभियान’
गणित, विज्ञान र अंग्रेजी शिक्षकको व्यवस्था, प्रविधिमैत्री विद्यालय, विपन्नरदलितरमुस्लिम समुदायका लागि छात्रवृत्ति, मातृभाषामा शिक्षा, प्राविधिक विद्यालय स्थापना र ‘सबल छोरी अभियान’ सञ्चालन गर्ने घोषणा।
२. सुलभ स्वास्थ्य – ‘स्वस्थ नागरिक अभियान’
प्रत्येक स्थानीय तहमा चिकित्सकसहित स्वास्थ्य प्रवर्द्धन केन्द्र, सर्पदंश र कालाजारको निःशुल्क उपचार, मोबाइल क्लिनिक, कुपोषण न्यूनीकरण कार्यक्रम तथा लागुऔषधविरुद्ध शून्य सहनशीलता नीति अपनाउने प्रतिबद्धता।
३.कृषि उत्थान – ‘किसान गौरव अभियान’
उखु बक्यौता भुक्तानी, मल र बीउको समयमै उपलब्धता, शीतभण्डार, न्यूनतम समर्थन मूल्यको ग्यारेन्टी, आपतकालीन मल भण्डार स्थापना तथा मल कारखाना मधेशमै ल्याउन पहल गर्ने घोषणा।
४.प्राकृतिक स्रोत र विपद् व्यवस्थापन
बागमती र मनुस्मरा नदी कटान नियन्त्रण, पक्की तटबन्ध, अर्ली वार्निङ सिस्टम, चुरे संरक्षण र कृषि वन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने योजना।
५.‘मिसन रोजगारी’ अभियान
श्रम बजार सर्वेक्षण, सीप विकास मेला, बिना धितो सहुलियत कर्जा, वैदेशिक रोजगारी सहायता डेस्क तथा विदेशबाट फर्केकालाई उद्यममा जोड्ने कार्यक्रम।
६. ‘दशगजा उज्यालो’ अभियान
सीमा क्षेत्रमा हाई–मास्ट सौर्य बत्ती जडान, छोटी भन्सार आधुनिकीकरण र सीमा गाउँ विकास प्याकेज कार्यान्वयन।
७. महिला तथा बालबालिका सशक्तीकरण
२ प्रतिशत ब्याजमा ‘महिला उद्यम कर्जा’, दाइजो र बालविवाहविरुद्ध अभियान, पोषण विशेष कार्यक्रम सञ्चालन।
८.दलित अधिकार, समता र न्याय
भूमिहीन दलितलाई भूमि तथा आवास, छात्रवृत्ति, परम्परागत सीप संरक्षण र सामाजिक विभेदविरुद्ध शून्य सहनशीलता नीति।
९। संस्कृति संरक्षण – ‘मेरो संस्कृति, मेरो पहिचान’
मिथिला कला, लोकसंस्कृति, ऐतिहासिक मन्दिर–पोखरी संरक्षण, सांस्कृतिक केन्द्र निर्माण तथा धार्मिक–सांस्कृतिक पर्यटन प्रवर्द्धन।
‘जनता दलान’ स्थापना गर्ने घोषणा
थापाले सर्लाही–४ मा व्यवस्थित सांसद कार्यालय ‘जनता दलान’ स्थापना गर्ने र काठमाडौंमा ‘स्याटेलाइट कार्यालय’ सञ्चालन गरी सेवाग्राहीलाई सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
समापनमा उनले आफूलाई “जनताको सेवक”का रूपमा प्रस्तुत गर्दै सुशासन र विकासका लागि रुख चिह्नमा मतदान गर्न आग्रह गरे।
“तपाईंको अमूल्य मतले सेवा गर्ने मेरो संकल्पलाई नयाँ उचाइ दिनेछ,” थापाले भने।





