१२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026

वरिष्ठ समाजसेवी उज्ज्वलविक्रम उभिए कांग्रेस सभापति थापाको पक्षमा



काठमाडौँ । जलनमा परेका गरिब तथा असहाय व्यक्तिहरूलाई उपचार तथा सहयोग गर्दै आएका वरिष्ठ समाजसेवी उज्ज्वलविक्रम थापा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको पक्षमा उभिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आगामी निर्वाचनमा प्रधानमन्त्रीको दौडमा रहेका नेताहरूमध्ये आफूले गगन थापालाई रोजेको उल्लेख गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का पूर्व नेतासमेत रहेका थापा हाल स्वतन्त्र रहे पनि कांग्रेस सभापति थापालाई समर्थन गरेका हुन् ।

उनले लेखेका छन्, निर्वाचनमा प्रधानमन्त्रीको दौडमा भएका मध्ये मैले गगन थापालाई रोजेको छु।

कुनै पनि व्यक्ति पूर्ण नहुने उल्लेख गर्दै गल्ती स्वीकार गरेर पुनः नदोहोर्‍याउने प्रतिबद्धता नै नेतृत्वको परिपक्वताको आधार भएको थापाले उल्लेख गरेका छन्। “गल्ती नगर्ने कोही हुँदैन, तर गल्ती आत्मसात् गर्दै पुनः नदोहोर्‍याउने वचनसहित अघि बढ्न हिम्मत चाहिन्छ”, उनले लेखेका छन् ।

उनले अनुभवहीन र प्रयास गर्न नै नचाहने व्यक्तिलाई देश चलाउने जिम्मेवारी दिन नसकिने धारणा राख्दै जीवनका उतारचढाव भोगेका व्यक्ति नै खारिएको नेतृत्व हुने बताएका छन्।

थापालाई आफूले समर्थन गरे पनि नागरिकको हैसियतले सधैं सचेत गराउने कार्य पनि गरिरहने उनको भनाइ छ।

“घरमा बसौंला वा प्रधानमन्त्री निवासमा, दुवै मेरो घरबाट पैदल दूरीमा छन्। भाइ पटक–पटक आएर गाली वा स्यावासी दिने काम गर्नेछु, दिक्क नमान्नु है”, उनले लेखेका छन्।

अन्त्यमा उनले जनताको मतबाट नै नेताको ठेगाना निर्धारण हुने उल्लेख गर्दै दशकौँदेखि गर्दै आएको सेवामा कमी नआओस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १० : ४७ बजे