१३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026

गैरआवासीय नेपालीबारे स्पष्ट प्रतिबद्धतामा विभिन्न देशका ११८ गैरआवासीय पेशाकर्मी नेपालीले गरे कांग्रेसलाई मतदानको अपील



काठमाडौँ । अमेरिका लगायतका विभिन्न मुलुकमा बसोबास गर्दै आएका विभिन्न पेशामा आबद्ध गैरआवासीय नेपालीले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न अपील गरेका छन् । विभिन्न मुलुकमा बस्दै आएका ११८ जना डाक्टर, इन्जिनियर, प्राध्यापकलगायत विभिन्न पेशाकर्मी गैरआवासीय नेपालीले निर्वाचनमा कांग्रेसलाई समर्थन गर्न अपील गरेका हुन् ।

एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले नेपाली कांग्रेसलाई समर्थन गर्न अपील गरेका हुन् । नेपाली कांग्रेसभित्र सुधारको प्रक्रिया शुरू भएको जनाउँदै “बदलियो कांग्रेस, बदल्छौँ देश” भन्ने नारासहित पार्टी निर्वाचनमा होमिएको उल्लेख गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

विविध भाषाभाषी, जातजाति र सांस्कृतिक पृष्ठभूमि भएको मुलुकमा समावेशी राजनीतिक शक्तिका रूपमा नेपाली कांग्रेसले नै देशलाई एकताबद्ध र समृद्धिको मार्गमा डोहोर्याउन सक्ने उल्लेख छ ।

गैरआवासीय नेपालीहरूले नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया तथा संविधान निर्माणमा कांग्रेसको नेतृत्वदायी भूमिकालाई स्मरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको प्रभावकारी कार्यान्वयनका लागि अनुभवी र लोकतन्त्रप्रति प्रतिबद्ध नेतृत्व आवश्यक रहेको जनाएका छन् ।

अमेरिकास्थित प्राध्यापक डा यादव पण्डितले नेपाली कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमा मुलुकको रूपान्तरणकारी र स्पष्ट मार्गदर्शन सहितको भिजन र कार्ययोजना ल्याएकाले यो आम चुनावमा कांग्रेस नै एकमात्र भरपर्दो विकल्पको रुपमा उपस्थित भएको जानकारी दिए ।

वंशजको नेपाली नागरिकताको निरन्तरता तथा गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयन लगायतका मुद्दामा नेपाली कांग्रेसले स्पष्ट प्रतिबद्धता ल्याएको र अरु दलहरूको लोकतन्त्र प्रतिको आस्थाको अझै परीक्षण हुन बाँकी रहेकाले नेपाली कांग्रेसको विकल्प मुलुकमा अझै स्थापित भैनसकेको उनको भनाइ छ ।

संयुक्त विज्ञप्तिमा अहिले मुख्य चुनौतीका रूपमा रोजगारी अभाव, उद्योगधन्दाको कमजोर अवस्था, पूर्वाधार आयोजनामा ढिलाइ, शिक्षा र सीपबीचको अन्तर, तथा सरकारी तहमा देखिएको भ्रष्टाचार र सेवा प्रवाहको सुस्ततालाई रहेको उल्लेख गर्दै छिमेकी मुलुकहरू तीव्र आर्थिक वृद्धि र प्रविधि विकासतर्फ अघि बढिरहेको अवस्थामा नेपालले समयमै निर्णय लिन नसके श्रम निर्यातमुखी अर्थतन्त्रमै सीमित हुने खतरा बढ्ने चेतावनीसमेत दिइएको छ ।

नेपाल लामो समयदेखिको राजनीतिक संक्रमण, बारम्बार सरकार परिवर्तन, नीतिगत निरन्तरताको अभाव तथा कार्यान्वयन कमजोर हुँदा थकित बनेको जनाउँदै यसले जनताको धैर्य क्षीण बनाएको र विशेषगरी युवाहरू परिणाममुखी नेतृत्वको खोजीमा रहेको जनाइएको छ।

संसार भरिरहेका लोकतन्त्रवादी बुद्धिजीवीहरूले आगामी संसद् संख्यात्मक समीकरणभन्दा पनि प्रभावकारी, जिम्मेवार र जनभावनाको प्रतिनिधित्व गर्ने हुनुपर्ने बताउँदै सुशासन, पारदर्शिता, रोजगारी सिर्जना र युवाहरूको सुरक्षित भविष्य सुनिश्चित गर्न कांग्रेसलाई नै जिम्मा दिनु पर्ने जनाएका छन् ।

विज्ञप्तिमा सम्पूर्ण नेपाली मतदातालाई आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्न आग्रह गर्दै मुलुकलाई स्थायित्व, सुशासन र दिगो विकासतर्फको यात्रामा अगाडि बढाउन नयाँ नेतृत्वसहित अगाडि बढेको कांग्रेसलाई नै अवसर दिनु पर्ने जिकिर गरिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ९ : ०० बजे