१४ फाल्गुन २०८२, बिहिबार | Fri Feb 27 2026

राष्ट्रिय निकुञ्जभित्रका १० बस्ती स्थानान्तरण गर्न सिफारिस



दाङ -बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङको बबई गाउँपालिकाभित्रका १० बस्तीलाई स्थानान्तरण गर्न सिफारिस गरिएको छ । सो राष्ट्रिय निकुञ्जभित्र पर्ने बबई गाउँपालिकाको वडा नं १ र ७ का १० वटा बस्तीलाई निकुञ्जभित्रबाट स्थानान्तरण गर्न सिफारिस गरिएको हो । गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले हालै निकुञ्जलाई उक्त सिफारिस गर्नुभएको हो । पालिकाका किउरेनी, बन्चरे,बाटुले,गौजे, जीला, सिमलकुना,डाँडागाउँ, कप्ताने, जलजला, मलईलाई निकुञ्जभित्रबाट अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने अध्यक्ष खत्रीले बताउनुभयो ।

त्यहाँका बस्तीहरुमा बाँके राष्ट्रिय निकुञ्ज घोषणा हुनुभन्दा ५० वर्षभन्दा पहिले नै मानव बसोबास रहेको भए पनि हाल राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले नागरिकले निकै दुःख पाउने गरेको अध्यक्षको भनाइ छ । “त्यहाँ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले त्यस क्षेत्रका नागरिकाहरुलाई राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरले मानवीय तथा घरपालुवा जनावर एवं बालीनालीमा क्षेति पु¥याउने गरेका छन्”, उहाँले भन्नुभयो, “तर, पनि त्यहाँका नागरिकलाई जोखिमयुक्त स्थानमा बसोबास गर्नुको विकल्प नरहेको र राष्ट्रिय निकुञ्ज भएकै कारणले तीन वटै तहका सरकारबाट पूर्वाधार विकासका लागि बजेटको व्यवस्था गर्नसमेत नसक्दा राज्यले दिने सुविधाबाट बञ्चित भएको अबस्थामा त्यहाँबाट बस्ती सार्नुको विकल्प छैन ।”

सोही क्षेत्रमा बसोबास गर्ने पीडित नागरिकहरुको जिउधनको सुरक्षा र राज्यको तर्फबाट नागरिकलाई उपलब्ध गराइने सेवा, सुविधाको पहुँच पु¥याउन र राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रलाई पनि कायम राख्न बस्ती स्थानान्तरण गर्न आबश्यक रहेको अध्यक्ष खत्रीले बताउनुभयो । पीडित नागरिक आक्रोसित हुँदै आगामी प्रतिनिधिसभाको निर्वाचनमा भोट नहाल्नेसमेत निर्णय गरेका थिए । अहिले त्यहाँका नागरिकको विद्रोहले गर्दा कुनै पनि उम्मेदवार भोट माग्नसमेत गएका छैनन् । विगतमा सोही ठाउँमा सबै जसो उम्मेदवारहरु भोट माग्न सोही ठाउँमा पुग्ने गर्थे । त्यहाँ सडक सञ्जालको पनि सहज पहुँच छैन । फोनले पनि राम्रोसँग काम गर्दैन । जङ्गली जनावरले बालीनाली खाइदिँदा पनि त्यसलाई छुन पनि नमिल्ने अवस्था रहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ९ : १० बजे