१६ फाल्गुन २०८२, शनिबार | Sun Mar 1 2026

प्रेम सम्बन्धका कारण युवकले गुमाए ज्यान



काठमाडौं । धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न आरोपमा प्रहरीले उनकी प्रेमिका र परिवारका सदस्यसहित तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो ।

यही फागुन १४ गते अपराह्न करिब ४ बजे औरही गाउँपालिका–६, चक्करस्थित भित्री सडकखण्डभन्दा ३०० मिटरपूर्व मसुरी खेतमा एक युवकको शव फेला परेको थियो । घाँटी रेटिएको अवस्थामा फेला परेको उक्त शवको पहिचान धनुषाकै हंसपुर नगरपालिका–९, बुदौल ९रुदौली०का १८ वर्षीय सुमितकुमार मण्डलका रूपमा भएको थियो । उनी सगरमाथा माध्यमिक विद्यालयमा कक्षा–११ मा अध्ययनरत थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानानुसार, सुमित र हंसपुर नगरपालिका–६, सोनिगाकी १७ वर्षीया काजलकुमारी मण्डलबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध थियो । फागुन १३ गते साँझ काजलले घरमा कोही नभएको मौका छोपी सुमितलाई भेट्न बोलाएकी थिइन् । सोहीक्रममा काजल परिवारका सदस्यले उनीहरूलाई आपत्तिजनक अवस्थामा फेला पारेपछि विवाद सुरु भएको थियो ।

धनुषाका प्रहरी उपरीक्षक ९एसपी० रुग्मबहादुर कुँवरका अनुसार, सुमितलाई नियन्त्रणमा लिएर काजलका दाजु २० वर्षीय दीपेशकुमार मण्डल र काकाका छोरा ९दाजु० २९ वर्षीय परमेश्वर मण्डलले भैँसी बाँध्ने डोरीले उनका दुवै हात पछाडि बाँधेका थिए । त्यसपछि उनलाई आफ्नै मोटरसाइकलमा राखेर घरदेखि करिब डेढ किलोमिटर टाढा मानव बस्ती नभएको मसुरी खेतमा लगिएको थियो । त्यहाँ खुकुरी ९दाउ० प्रहार गरी घाँटी रेटेर उनको हत्या गरिएको प्रहरीले जनाएको छ ।

हत्यापछि उनीहरूले प्रमाण मेटाउन सुमितको मोटरसाइकल विदेह नगरपालिका–१ स्थित एक साथीको घरमा लुकाएर राखेका थिए । प्रहरीले उक्त मोटरसाइकल, धारिलो हतियार ९खुकुरी० र हात बाँध्न प्रयोग गरिएको डोरी समेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा सुमितकी प्रेमिका काजल, उनका दाजु दीपेशकुमार र परमेश्वर मण्डल छन् । उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा एसपी कुँवरले भने, “हामीले घटनाको जानकारी पाउनेबित्तिकै टोली परिचालन गरेर अनुसन्धान सुरु गरेका थियौँ । प्रेम सम्बन्धकै कारण रिसइबी साधेर योजनाबद्ध रूपमा हत्या गरिएको देखिन्छ । अभियुक्तहरूले सुरुमा घटना लुकाउन खोजे पनि प्राविधिक र स्थलगत अनुसन्धानबाट उनीहरूलाई पक्राउ गर्न सफल भएका छौँ ।”

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ११ : २३ बजे