१८ फाल्गुन २०८२, सोमबार | Tue Mar 3 2026

गोरखा–२ मा काँग्रेस र बाबुराम भट्टराईको पार्टीको संयुक्त घरदैलो अभियान



गोरखा । गोरखा क्षेत्र नं २ मा नेपाली कांग्रेस र डा बाबुराम भट्टराई प्रमुख संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक ९पार्टी०को संयुक्त घरदैलो अभियान सञ्चालन भएको छ ।

गोरखाका दुबै क्षेत्रमा नेपाली कांग्रेसलाई सहयोेग गर्ने निर्णय गरेको प्रलोपाले कांग्रेससँग मिलेर चुनावी प्रचारप्रसारलाई तीव्रता पारेको हो ।

प्रलोपा गोरखाका अध्यक्ष नारायण खत्रीको नेतृत्वमा रहेको टोलीले कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीसँग मिलेर सोमबार बिहानैदेखि पालुङ्टार नगरपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम सञ्चालन गरेका हुने । संयुक्त टोलीले मतदातासँग भेटघाट गर्दै समर्थनका लागि आग्रह गरिरहेका छन् ।

प्रचार अभियानमा कांग्रेसले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ‘रुख’ चिन्हमा मत मागिरहेको छ भने प्रलोपाले प्रत्यक्षतर्फ ‘रुख’ र समानुपातिकतर्फ ‘आँखा’ चिन्हमा मतदान गर्न अनुरोध गरिरहेको छ ।
संयुक्त टोलीमा प्रलोपाका समानुपातिक उम्मेदवार लालबहादुर विक, केन्द्रीय सदस्य यानप्रसाद भट्ट ‘सरोज’, अमृत आचार्य तथा जिल्ला अध्यक्ष नारायण खत्री सहभागी छन् । कांग्रेसका तर्फबाट उम्मेदवार दवाडी अभियानमा सहभागी भएका छन् ।

प्रचारका क्रममा अध्यक्ष खत्रीले विगतमा कांग्रेसले ‘आँखा’ चिन्हमा सहयोग गरेको प्रसंग स्मरण गराउँदै यसपटक ‘रुख’ चिन्हमा मतदान गर्न आग्रह गरेका छन् । साथै स्थानीय तह र प्रदेश तहसम्म कांग्रेससँग सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै मतदातालाई गठबन्धनको पक्षमा उभिन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  २ : ३५ बजे