काठमाडौं । फाल्गुन शुक्ल पूर्णिमाका दिन आज (फागुन १९) बेलुका ग्रस्तोदित खण्डग्रास ९उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने० चन्द्रग्रहण लाग्ने भएको छ ।
ग्रहणले मंगलबार दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो ९पञ्चांग०मा उल्लेख छ । चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा। शम्भुप्रसाद ढकालले जानकारी दिए ।
बेलुका ६ बजेर ३ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रस्तोदित खण्डग्रास भएकै अवस्थामा उदय हुनेछ । बेलुका ७ बजेर २ मिनेटमा चन्द्रग्रहण सकिन्छ । नेपालबाट करिब एक घण्टा चन्द्रग्रहण देखिनेछ ।
पृथ्वीले सूर्यलाई पूर्ण रूपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था खग्रास चन्द्रग्रहण हो । आधा वा केही खण्ड ढाकिने खण्डग्रास चन्द्रग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छाया चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो । यस वर्ष नेपालबाट दोस्रोपटक यो ग्रहण देखिन लागेको हो ।
गएको भदौ २२ गते खग्रास चन्द्रग्रहण लागेको थियो । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।
ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा, नसके नजिकको नदी, ताल, तलाउ, पोखरी, यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्री, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख छ ।
चन्द्रग्रहणमा तीन प्रहर ९नौ घण्टा०अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् प्रा। तोयराज नेपालले बताए । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको पनि उनले बताए ।
मंगलबार बिहान ९ः०३ बजेपछि बालबालिका, वृद्धवृद्धा र आतुरबाहेकले भोजन गर्न नहुने शास्त्रीय मान्यता रहेको समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ ।
विशेष उपकरणविना नै हेर्न सकिन्छ चन्द्रग्रहण
विश्वमा सन् २०२६ मा दुई चन्द्रग्रहण र दुई सूर्यग्रहण गरी जम्मा चार ग्रहण लाग्नेछ । नेपालबाट भने आजको चन्द्रग्रहण खण्डग्रास चन्द्रग्रहणका रूपमा देखिनेछ ।
मौसमले साथ दिएका खण्डमा देशका सबै भागबाट उक्त खण्डग्रास चन्द्रग्रहण प्रस्ट देख्न सकिने खगोलको क्षेत्रमा काम गर्दै आएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरणको आवश्यकता पर्दैन ।
मंगलबार नेपालमा चन्द्रोदयपछि बेलुकी ०७ः०२ बजेसम्म लाग्ने खण्डग्रास चन्द्रग्रहण मौसमले साथ दिएमा प्रस्ट रूपले हेर्न सकिनेछ । सन् २०२६ मा नेपालबाट देख्न सकिने यो एक मात्र ग्रहण भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।
ग्रहण अवलोकन आफ्नो घरको छत वा खुला चौर वा नजिकैको डाँडा आदिबाट गर्न सकिनेछ । चन्द्रोदयसँगै नेपालमा सुरु हुने यो ग्रहण हेर्न नजिकैको उच्च भूगोल उत्तम हुने उनले बताए ।
पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पनि पृथ्वीलाई परिक्रमा गरिरहेको हुन्छ । यसक्रममा पृथ्वी जब सूर्य र चन्द्रमाको बीचमा पर्न जान्छ, तब पृथ्वीको छाया चन्द्रमामा पर्छ । चन्द्रमाको आफ्नो प्रकाश नभएका कारण पृथ्वीको उक्त छायाले चन्द्रमा छेकिन्छ, यसलाई नै चन्द्रग्रहण भनिन्छ ।
सूर्य, पृथ्वी र चन्द्रमा पूर्णिमा वा औँसीको समयमा एउटै सरल रेखामा पर्न सक्ने भए पनि सबै पूर्णिमा चन्द्रग्रहण सम्भव हँुदैन । किनभने, चन्द्रमाको कक्षीय धरातलले पृथ्वीको कक्षीय धरातलमा करिब ५ डिग्रीको कोण बनाएको हुन्छ ।
यस्तै, चन्द्रमाको कक्षले पृथ्वीको कक्षीय धरातललाई दुई विन्दुमा काटेको हुन्छ । यी दुई विन्दुलाई प्राचीन ज्योतिष शास्त्रमा राहु र केतु नाम दिइएको उनले बताए ।





