काठमाडौँ । काठमाडौँ उपत्यकामा चार दिनदेखि मौसम खुल्न सकेको छैन । धुम्म मौसमका कारणका चार दिनदेखि घामसमेत लाग्न सकेको छैन । साथै वायु प्रदूषण झन् बढेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु, हावा नचल्नुलगायत कारणले मौसम धुम्मिएको बताउँदै यसले प्रदूषण बढाउन मद्दत गरेको उल्लेख गरे ।
“लामो समयदेखि वर्षा हुन सकेको छैन, हावा पनि चलेको छैन । त्यसैले केही दिनयता मौसम धुम्मिएको छ”, उनले भने, “गत वर्षको तुलनामा यस वर्ष प्रदूषण केही कम छ । वन डढेलो नलागेसम्म प्रदूषण अत्यधिक रूपमा भने बढ्ने छैन ।”
एयर क्वालिटी इन्डेक्स ९एक्यूआई० अनुसार आज बिहान ९ः२० बजेको काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकाङ्क १९९ पुगेको छ । यससँगै काठमाडौँ विश्वको तेस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ ।
प्रदूषण नियन्त्रणका लागि समयमा पूर्वतयारी आवश्यक पर्ने बताउँदै वातावरणविद् भूषण तुलाधरले घरबाट निस्कने फोहरको उचित व्यवस्थापन, डढेलो नियन्त्रण, सवारीसाधनको धुँवा परीक्षण, मापदण्डको कडाइका साथ कार्यान्वयन गर्न सके प्रदूषण नियन्त्रणमा मद्दत पुग्ने धारणा राखे ।
एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्दछ ।
त्यस्तै, १०१ देखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्ने भएकाले सचेतना अपनाउन विभागका महानिर्देशक सुवेदीले आग्रह गरे ।
उनका अनुसार १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।
यता चिकित्सकहरुले पछिल्लो समय आँखा र नाक चिलाउने समस्या लिएर अस्पताल आउनेको संख्या बढ्न थालेको बताएका छन् ।
चिकित्सकहरुले बाहिर सकभर ननिस्कने र निस्कनै परे मास्क तथा चस्माको प्रयोग गर्नसमेत आग्रह गरेका छन् ।
काठमाडौँ उपत्यकामा गत असोजपछि पानी पर्नै सकेको छैन । क्षणिक वर्षा फाटफुट स्थानमा परे पनि त्यो फलदायी हुन सकेको छैन । आइतबार राति पनि फाटफुट वर्षा भएको थियो ।
यता देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ ।





