काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ । दुबई विमानस्थलमा अलपत्र परेका २७२ नेपालीलाई बिहीबार ९फागुन २८० विशेष उद्धार उडानमार्फत स्वदेश ल्याइएको निगमका प्रवक्ता देवेन्द्र पुनले जानकारी दिए ।
काठमाडौं एयरपोर्टमा अलपत्र परेका २६० यात्रीलाई विशेष उद्धार उडानको उक्त विमानमार्फत दुबई विमानस्थलसम्म पुर्याइएको थियो ।
आज (फागुन २९) पनि यहाँबाट २६७ यात्री लिएर निगमको विमान दुबई प्रस्थान गर्नेछ । त्यहाँबाट १६४ नेपालीलाई स्वदेश ल्याइने प्रवक्ता पुनले जानकारी दिए ।
यही फागुन १६ गतेदेखि पश्चिम एसियाको आकाशमा उडान निषेध छ । सोही कारण उद्धार उडान थालिएको हो ।
अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हवाई आक्रमण गरेपछि पश्चिम एसियाली मुलुकमा उडान बन्द गरिएको हो । रासस





