काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका प्रत्यासी रविन बज्रचार्यले आफ्नो उम्मेदवारीमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् । शुक्रबार सञ्चारकर्मीहरुमाँझ बज्राचार्यले भने, ‘अन्य साथीहरु सहमतिअनुसार अगाडि बढ्न नचाहेपछि मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ, यसमा पुनर्विचार हुँदैन ।’
एनआरएनए नेतृत्व सहमतिमा चयन गर्ने तयारी भइरहेका बेला बज्रचार्यको यो अभिव्यक्ति सार्वजनिक भएको हो । अध्यक्ष पदमा तीनजनाले उम्मेदवारी दिएका थिए, त्यसमध्ये रविन शेरचनले उम्मेदवारी हापेका छन् भने हेमराज शर्मा र बज्रचार्य अध्यक्ष पदमा उम्मेदवार छन् । अध्यक्षबाहेक अन्य धेरैजसो पदमा निर्विरोध कार्यसमिति चयन भइसकेको छ ।
विगत ३० वर्षदेखि अमेरिकाको न्यूयोर्क सहरमा बसोबास गर्दै आएका अध्यक्षका प्रत्यासी बज्राचार्य लामो समयदेखि एनआरएनएको विभिन्न भूमिकामा रहेर काम गरेका छन् । एनआरएनएलाई प्रवासमा रहेका सबै नेपालीको साझा संस्थाको रुपमा सम्झनलायक बनाउनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताए ।
एनआरएनए संसारभर बद्नाम छ, यसको छवि पहिलेकै अवस्थामा फर्काउनु छ, ललितपुर बुबहाल स्थायी घर भएका बज्रचार्यले भने, ‘एनआरएनएमा ललिपप देखाउनेहरुको कमी छैन, तिनीहरुबाट जोगाएर संस्थाको गरिमा कायम राख्न मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ ।’
पूर्ववत् सहमति कायम राखेको भए एनआरएनएमा सर्वसम्मत नेतृत्व चयन हुनेमा दुई मत नरहेको अध्यक्षका प्रत्यासी बज्रचार्यले बताए । ‘संस्थामा इमान्दारलाई किनारा लगाउने प्रयास भएकाले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी अनिवार्य भएको हो’, बज्रचार्यले भने, ‘संस्थामा इमान्दारिताको खडेरी परेकाले संस्थाको गरिमा फर्काउन र एनआरएनलाई सबैको साझा बनाउन राजनीतिको जुत्ता ढोका बाहिरै खोलेर अध्यक्ष पदका लागि मेरो उम्मेद्वारी हो ।’
विगतमा राजनीतिक रंग दलेकाले एनआरएनको यो हविगत भएको उनको ठम्याइ छ । अब त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने उनको मान्यता हो । यो मान्यतालाई साथ दिने सबैले अध्यक्ष पदमा मलाई मतदान गर्ने छन्, बज्रचार्यले भने, ‘मैले अध्यक्ष जिते भने विगतका कमीकमजोरी सच्चाएर राजनीतिमुक्त एनआरएनए बनाउने छु ।’
को हुन रोविन बज्रचार्य ?
३० वर्षअघि व्यापारको सिलसिलामा अमेरिका पुगेका रोविन बज्रचार्य सेयर कारोबारी हुन् । नेपालमा हुँदा हस्तकला व्यापारी थिए । हस्तकला व्यापारकै लागि उनी अमेरिका गएका हुन् । हस्तकला व्यापार छोडेर उनी सेयर कारोबारमा लागे । त्यसो त नेपालमा हुँदा पनि सेयर बजारमै व्यस्त थिए ।
श्रीमति शर्मिला शाक्य प्राध्यापक हुन् । उनी तीनवटा कलेजमा प्राध्यापन गर्छिन् । रविनको यात्रालाई सहज र सरल बनाउनका लागि श्रीमति शाक्यको सल्लाह महत्वपूर्ण मानिन्छ ।
उनी पहिले न्यूयोर्क सिटीको सेयर बजारमा भेटिन्थे । विश्व सेयर बजारमा दिमाग, हात र आँखा एकैपटक सञ्चालन गर्नुपर्ने उनी बताउँछन् । उमेरले अहिले उनको दिमाग, हात र आँखा एकैपटक सञ्चालन हुन छाड्यो, त्यसैले पेसाबाट अवकाश लिएका छन् । अबका दिन सामाजिक क्षेत्रमै बिताउने उनले अठोट छ ।
सेयर बजारमा धेरै कमाइ हुन्छ भन्छन् भन्ने जिज्ञासामा बज्रचार्यले भने, ‘कमाउने जसरी हो, गुमाउने पनि त्यसरी नै हुन्छ ।’ दिमाग, हात र आँखा एकै साथ चलेन भने, कमाउनेभन्दा गुमाउने धेरै हुन्छ ।
‘शरीरिका यी तीनवटै इन्द्रिय एकै साथ चल्न छोडेपछि एनआरएनएमा बसेर समाजसेवा गर्छुभनेर पेशाबाट अवकास लिएको हुँ’ उनले भने, ‘म बढी बोल्दिनँ, कामले देखाउने मेरो हुलिया हो, त्यसैले साथीभाइले त्यो अवसर दिनुहुन्छ भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।’
त्यसो त एनआरएनएमा उनी नौलो हुँदै होइनन् । विगत पनि संस्थामा नीतिगत सुधारका लागि लबिङ गर्दै आएका थिए । उनकै पहलमा युवा र महिलाले संस्थामा स्थान बनाउन सकेको ठम्याइ उनको छ । अब विधि विधान संशोधन र सुधार गरेर मात्र परिवर्तन सम्भव छैन भन्ने निष्कर्षमा उनी पुगेका छन् ।
संस्थामा आमूल परिवर्तन गर्ने हो भने ड्राइभिङ सिटमा बस्न अनिवार्य छ, त्यसैको फलस्वरुप उनले यसपटक संस्था हाँक्न ड्राइभिङ सिटमा बस्ने निर्णय लिएका छन् । अर्थात् अध्यक्ष पदमा उनले उम्मेदवारी दिएका छन् । उनको यो पवित्र उद्देश्यलाई विश्वभर छरिएर रहेका नेपालीले कति साथ दिन्छन्, त्यो हेर्न अरु दुई दिन कुर्नैपर्ने हुन्छ ।





