५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

‘लालीबजार’लाई लिएर स्वस्तिमा के भन्छिन् ?



काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार गरिएको चलचित्र ‘लालीबजार’मा आफूले चाहेजस्तो काम गर्न पाएको बताएकी छन् । उनले हालसम्म गरिरहेका भूमिकाभन्दा फरक रहेको प्रस्ट पारेकी छन् ।

पत्रकारसँग अभिनेत्री खड्काले चलचित्रमा उठान गरिएको विषयवस्तुका कारण अभिनय गर्न थालेको एक दशकको यात्रा पार गरेपछि पहिलोपटक ‘अडिसन’ मार्फत चलचित्र ‘लालीबजार’मा अभिनेत्रीका रूपमा अनुबन्धित भएको बताइन् ।

“लालीबजार चलचित्रमा मैले अभिनेत्रीका रूपमा सोच्ने सबै काम गर्न पाएकी छु । यो विषयवस्तु मेरो लागि पनि नयाँ र फरक थियो,” उनले भनिन्, “एउटा कलाकारका लागि यस्तो भूमिका निर्वाह गर्न पाउनु अवसर र चुनौती दुवै हो । मैले निर्वाह गरेको भूमिकाका बारेमा बिस्तारै खुल्दै गएपछि दर्शकले बुझ्नुहुन्छ । मैले हालसम्म गरेको कामभन्दा भिन्न छ ।”

स्वस्तिमाले चलचित्रमा यौन पेसाकर्मी महिलाको भूमिका निर्वाह गरेकी छन् । वैशाख १८ गतेदेखि प्रदर्शन हुने उक्त चलचित्रमा अभिनेत्री खड्कासँगै रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठलगायत कलाकारको अभिनय छ ।

चलचित्रलाई यम थापाले निर्देशन गरेका छन् । चलचित्रको पटकथा तथा संवाद निर्देशक थापासँगै अर्का निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् ।

चलचित्रलाई दीपेश खत्री र रवीन्द्रसिंह बानियाँले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ११ : १३ बजे