मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा शुक्रबार हिमपात भएको छ । शुक्रबार अपराह्न ४ बजेदेखि मुक्तिनाथ क्षेत्रमा हिमपात भएको हो । मुस्ताङमा कात्तिक १० गतेयता हालसम्म छैटौँपटक हिमपात भएको हो ।
वारागुङ मुक्तिक्षेत्र–१, मुक्तिनाथ क्षेत्रमा निरन्तर रूपमा भारी मात्रामा हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए ।
हिमपातका कारण चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवन प्रभावित भएको भुसालको भनाइ छ ।
मुक्तिनाथ क्षेत्रको मुक्तिनाथ, रानीपौवा, झारकोट, खिङ्गा, छेङ्गुर, पुडाक र झोङलगायतका स्थानमा बाँक्लो हिमपात भइरहेको जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले जानकारी दिए ।
माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि दिउँसोदेखि हिमपात भइरहेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए ।
मुस्ताङका तल्लो क्षेत्र थासाङ गाउँपालिका र घरपझोङ गाउँपालिका क्षेत्रका उच्चलेकमा आंशिक हिमपात भइरहेको र बस्ती क्षेत्रमा दिउँसोदेखि निरन्तर वर्षा भइरहेको जनाइएको छ ।





