९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

‘सातदिने मौसम पूर्वानुमान तयारीमा विभाग’



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले निकट भविष्यमा सात दिनसम्मको मौसम पूर्वानुमान गर्ने योजना बनाएको छ । विभागले हाल तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ । विश्व मौसम दिवसका अवसरमा सोमबार ९चैत ९० काठमाडौंमा आयोजित एक कार्यक्रममा विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले यसबारे जानकारी गराएका हुन् ।

मौसमजन्य विपद्‌बाट हुने धनजनको क्षति न्यूनीकरणका निम्ति यसको पूर्वानुमानलाई थप भरपर्दो र प्रविधिमैत्री बनाइनुपर्नेमा उनले जोड दिए । उनले पूर्वानुमानको शुद्धताका निम्ति अवलोकनका तथ्यांक गुणस्तरीय हुनुपर्ने बताए ।

नेपालमा हरेक वर्ष भारी वर्षा, हावाहुरी, असिना, डढेलोजस्ता मौसमी प्रकोपले ठूलो क्षति पुर्‍याइरहेको उनले उल्लेख गरे । उनले विभागले हाल भूउपग्रह ९स्याटेलाइट०, राडार, रेडियोसोन्ड र जमिनमा आधारित मौसम केन्द्रहरूबाट तथ्यांक संकलन गरिरहेको जानकारी दिए ।

प्रधानाङ्गका अनुसार, विभागले हाल ‘न्युमेरिकल वेदर मोडलिङ’मार्फत तीन दिनसम्मको पूर्वानुमान नियमित रूपमा जारी गर्दै आएको छ ।

विभागले हाल पर्वतारोहण, हवाई उड्डयन, कृषि र सहरी क्षेत्रका निम्ति विशेष पूर्वानुमान सेवा प्रदान गरिरहेको उनले बताए । विशेष गरी हवाई मौसम सेवालाई ‘डिजिटलाइज्ड’ गरिएको र २१ स्थानीय तहमा ‘प्रभावमा आधारित पूर्वानुमान’ सुरु गरिएको उनले जानकारी दिए ।

सन् २०१० पछि नेपालको मौसमसम्बन्धी प्रविधिमा उल्लेख्य सुधार आएको उनले उल्लेख गरे । आउँदा दिनमा सात दिनसम्मको पूर्वानुमान गर्ने प्रणाली विकास गरिने उनले बताए ।

साथै, मौसमसम्बन्धी जानकारी सजिलै उपलब्ध गराउन मोबाइल एप सञ्चालनमा ल्याइने र आफ्नै ‘डिसिजन सपोर्ट सिस्टम’ ९निर्णय सहयोग प्रणाली० बनाउने तयारी भइरहेको उनले जानकारी दिए ।

“।।।निकट भविष्यमा पनि थप प्रविधिहरु जस्तै, सात दिनसम्मको पूर्वानुमान जेनेरेट गर्ने र त्यस्तै यो मोबाइल वेदर मोबाइल एपहरु सञ्चालनमा ल्याउने र यो आफ्नै डिसिजन सपोर्ट सिस्टम बनाउनेजस्ता कार्यक्रमहरु प्लानिङ फेजमा छ,” उनले भने ।

मौसमको सटीक अवलोकन र विश्लेषणबाट नै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  २ : १३ बजे