काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबै पक्षलाई आह्वान गरेका छन् ।
निर्वाचन आयोग नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रममा पौडेलले सो कुरा बताएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रले जनताको जीवनस्तर माथि उठाएर मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सो कामका सबैले ध्यान दिने बेला आएको बताए ।
निर्वाचनमा प्राप्त जनादेशले मुलुकको भविष्यलाई दिशा निर्देश गरेको पनि उनको भनाइ छ । राष्ट्रपति पौडेलले मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व जनप्रतिनिधिहरूको काँधमा आएको बताए । राष्ट्र निर्माणको साझा लक्ष्यमा सबैको एउटै मत हुने उनको विश्वास छ ।





