१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

पाँच लाख १२ हजारले दिँदै छन् एसईई, एक हजार ९६६ परीक्षाकेन्द्र निर्धारण



भक्तपुर । यही चैत १९ गतेदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसइई सुरु हुने जनाएको छ ।

चैत १९ गतेदेखि सुरु भई २९ गते सम्पन्न हुने एसईईमा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुने कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार, तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिनेछन् । परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ ।

यसवर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सातजना परीक्षामा सहभागी हुने उनले जानकारी दिए । उनका अनुसार, जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन् ।

सबैभन्दा बढी विद्यार्थी वाग्मती, कम कर्णालीमा

यस वर्ष कोसी प्रदेशबाट ८२ हजार ४८७, मधेसबाट ९० हजार २४३, वाग्मतीबाट एक लाख नौ हजार ५१३, गण्डकीबाट ४३ हजार ९७२, लुम्बिनीबाट ९१ हजार ८०२, कर्णालीबाट ३९ हजार ७६९ र सुदूरपश्चिम प्रदेशबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

बोर्डले परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरेको छ भने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने जनाएको छ ।

यस्तो छ परीक्षा तालिका

चैत १९ गते बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए । रासस

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ८ : २१ बजे