१७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026

ऊर्जा मन्त्रालयले लगायो प्लास्टिकको प्रयोगमा प्रतिबन्ध



काठमाडौँ । आज (बुधबार)देखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ।

मन्त्रालयले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन र दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यका साथ यो निर्णय कार्यान्वयनमा ल्याएको हो।

प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्दै वैकल्पिक र वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुरूप यो कदम चालिएको मन्त्रालयले जनाएको छ।

यो निर्णयले सम्पूर्ण सरकारी निकाय र सरोकारवालालाई सकारात्मक सन्देश दिने विश्वास लिइएको छ। आगामी दिनमा यसको प्रभावकारी कार्यान्वयनका लागि सबैको सहकार्य अपेक्षित छ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ११ : ३८ बजे