काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई सात दिन भित्र निर्वाचन गर्न विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी) ले पत्र पठाएको छ ।
फिफा र एएफसीले निर्वाचन सुनिश्चित नभए निलम्बन प्रक्रिया अगाडि बढाउने चेतावनी पनि दिएको छ । फिफा र एएफसीले राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले एन्फालाई गरेको तीन महिनाको निलम्बन सरकारी हस्तक्षेपको रुपमा समेत लिएको छ ।
पत्रमा भनिाएको छ ,‘‘यदि राखेपले उक्त निर्णय खारेज नगरेमा वा पत्र प्राप्त भएको सात दिनभित्र उक्त निर्णयको कुनै प्रभाव नरहेको र एन्फाले राखेपद्वारा लगाएको निलम्बन पूर्वको अवस्थाबाट आफ्नो चुनावी प्रक्रिया पुनस् सुरु गरेर लिखित रुपमा सुनिश्चित नगरेमा एन्फालाई तत्काल निलम्बन गर्न फिफा काउन्सिलमा पेस गरिनेछ,’’ पत्रमा उल्लेख छ ।
यसअघि चैत १३ गतेका लागि तय भएको एन्फाको ‘अर्ली इलेक्सन’ स्वीकृतिविना नै गर्न लागेको भन्दै राखेपले गत चैत १२ गते एन्फालाई तीन महिनाको लागि निलम्बन गरेको थियो ।
निलम्बनपछि एन्फाले झापामा तय गरेको निर्वाचन बिचैमा रोकेको थियो । राखेपले एन्फालाई क्लब, जिल्ला, प्रदेशहुँदै तहगत निर्वाचन गरेर केन्द्रीय निर्वाचन गर्न निर्देशन समेत दिँदै आएको थियो ।





