काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाएको आरोप लगाएका छन् । ओलीले आफूलाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखेको , मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको उनले उल्लेख गरेका छन् ।
“सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु,” ओलीले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन् ।
आफ्नो रिहाइको माग गर्नेमाथि सडकमा प्रहरीले दमन गरेर घाइते बताएको पनि उनले बताएका छन् । “मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,” उनले भनेका छन्, “उहाँहरू (घाइते)को उपचार खर्च राज्यले बेहोर्नुपर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु ।”





