काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास थालिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाको निर्देशनपछि कम्पनीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन ठोस कदम अघि बढाएको हो ।
विशेषगरी ग्राहक सेवा, मोबाइल डेटा व्यवस्थापन, डिजिटल सेवा विस्तार र प्रशासनिक प्रक्रियामा सुधार ल्याउने उद्देश्यले व्यापक रूपान्तरण प्रक्रिया अघि बढाइएको छ ।
सञ्चार मन्त्रालयले ‘नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली’ लागू गर्ने उद्देश्यसहित १० बुँदे सुधारात्मक कार्ययोजना ल्याएको छ । यस योजनामा नेपाल टेलिकमको सेवा सुधारलाई पनि प्राथमिकतामा राखिएको छ । यसअन्तर्गत ग्राहक सेवालाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य लिइएको छ । विगतमा सेवा अवरोध, ढिलो प्रतिक्रिया, अनावश्यक प्रक्रियागत झन्झट र ग्राहकको गुनासो समाधानमा ढिलाइजस्ता समस्या बारम्बार उठ्दै आएका थिए । यिनै समस्यालाई सम्बोधन गर्न अहिले मन्त्रालय र कम्पनी दुवैले समन्वयात्मक ढंगले काम गरिरहेका छन् ।
नेपाल टेलिकमका प्रयोगकर्ताहरूले लामो समयदेखि डाटा प्याकेज सकिएपछि स्वतः मुख्य ब्यालेन्सबाट रकम काटिने समस्याबारे गुनासो गर्दै आएका थिए । अब यो प्रणाली अन्त्य गरिएको छ । यसको सट्टा ग्राहकले थप पारदर्शी र आफैँ छान्न सक्ने विकल्पसहितको सेवा पाउनेछन् ।
अब ग्राहकले लिएको डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिइनेछ ।





