काठमाडौं । सडक कालोपत्र गर्न प्रयोग हुने बिटुमिनको अभावले निर्माणाधीन नागढुंगा–मुग्लिङखण्डको काम रोकिएको छ । पश्चिम एसियामा जारी तनावले अन्तर्राष्ट्रिय बजारमा बिटुमिन अभाव भएर काम रोक्नुपरेको निर्माण कम्पनी ज्याङ्सु सगुन जेभीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेले जानकारी दिए ।
सप्लायरले हालको अवस्थामा अन्तर्राष्ट्रिय बजारमा बिटुमिनको चरम अभाव भएको भन्दै अर्डर क्यान्सिल गरिरहेको घिमिरे बताउँछन् । निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा–नौबिसेखण्डको ६ किलोमिटर ‘फाइनल’ कालोपत्र सम्पन्न भइसकेको छ । बाँकी ६ किलोमिटर सडक तेस्रो तहको फाइनल पिच गर्दागर्दै रोकिएको उनले जानकारी दिए ।
कुल १२।२ किलोमिटरको नागढुंगा–नौबिसे सडकमा अब बाँकी बाटो फाइनल कालोपत्र गर्न करिब ५३० टन बिटुमिन आवश्यक रहेको घिमिरेले बताए । बिटुमिन उपलब्ध भए १० दिनभित्र नागढुंगा–नौबिसे सडकखण्डको फाइनल कालोपत्र सम्पन्न हुने उनले जानकारी दिए ।
निर्माण व्यवसायीले बिटुमिन अभावले आयोजनाको कालोपत्रको काम अघि बढाउन नसक्ने जानकारी सरकारी पक्षलाई गराइसकेको नागढुंगा–मुग्लिङ सडक योजना पूर्वी खण्डका योजना प्रमुख केशव ओझा बताउँछन् ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा लगाएको ‘कोटा’ प्रणालीका कारण आयोजनामा प्रयोग हुने यन्त्र, उपकरण सञ्चालन गर्न पर्याप्त डिजेल, पेट्रोल पम्पहरूबाट उपलब्ध हुन नसकेको ओझाले बताए ।
नागढुंगा–नौबिसे सडकखण्डको हालसम्मको भौतिक प्रगति ८८ प्रतिशत छ । वित्तीय प्रगति ८२ प्रतिशत रहेको छ । त्रिभुवन राजपथ क्षेत्रमा पर्ने यो सडक विश्व बैंकको ऋण सहयोगमा निर्माण भइरहेको हो ।





