२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

निजी क्षेत्र बलियो भए मात्र अर्थतन्त्र सबल हुन्छ : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्र सबल भए मात्र राष्ट्रको अर्थतन्त्र सबल हुने बताएका छन् ।

राष्ट्रपति पौडेलले नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्ती ९७५औँ वर्ष०को अवसरमा आयोजित कार्यक्रमलाई शुक्रबार ९चैत २७० सम्बोधन गर्दैनिजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा मात्र नभई राष्ट्र निर्माणका अभिन्न साझेदार र देशको ‘आर्थिक इन्जिन’का रूपमा हेर्नुपर्ने बताए ।

उनले नेपालको निजी क्षेत्रको संघर्ष, समर्पण र उपलब्धिलाई स्मरण गर्दै मुलुकको आर्थिक समृद्धिमा चेम्बरले पुर्‍याएको योगदानको प्रशंसा गरे ।

“नेपाल चेम्बर अफ कमर्सले सरकार, सरोकारवाला निकाय, कूटनैतिक नियोग तथा विकास साझेदारहरूसँग गर्दै आएको सहकार्य र खेलेको भूमिका सराहनीय छ,” राष्ट्रपति पौडेलले भने, “मुलुकको आर्थिक समृद्धि, उद्योग व्यवसायको प्रवर्द्धन लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा निजी क्षेत्रको प्रतिनिधिमूलक यस संस्थाले निरन्तर दिएको योगदान प्रशंसनीय छ ।”

कोभिड महामारी, आपूर्ति शृंखलामा आएको अवरोध र उत्पादनमा आएको गिरावटका कारण अर्थतन्त्रमा केही चुनौतीहरू देखिएको उनले उल्लेख गरे । राष्ट्रपति पौडेलले यस्तो अवस्थामा सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिए ।

देशको भविष्य युवा पुस्ताको हातमा रहेको चर्चा गर्दै राष्ट्रपति पौडेलले ‘ब्रेन ड्रेन’ ९प्रतिभा पलायन० रोक्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने बताए । उद्यमशीलता, प्रविधि र सृजनशीलताका माध्यमबाट युवाहरूलाई आर्थिक गतिविधिमा जोड्नु आजको प्रमुख आवश्यकता रहेको राष्ट्रपति पौडेलले औँल्याए ।

परम्परागत सोचभन्दा बाहिर निस्केर नवीनता र नवप्रवर्तनतर्फ लाग्न आह्वान गर्दै राष्ट्रपतिले डिजिटल अर्थतन्त्र, हरित विकास र स्टार्टअप संस्कृतिको विकासमा पनि जोड दिए ।

“आजको विश्व प्रतिस्पर्धात्मक अर्थतन्त्रको युगमा हामीलाई परम्परागत सोचभन्दा बाहिर निस्केर नवीनता, नवप्रवर्तन र साहसिक निर्णयहरू आवश्यक छन्,” उनले भने, “डिजिटल अर्थतन्त्र, हरित विकास, प्रविधिमा आधारित उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकास आजको आवश्यकता हो ।”

साथै, उनले जननिर्वाचित सरकारलाई सुशासनमार्फत आर्थिक समृद्धि हासिल गर्ने र जनताको जीवनस्तर उकास्ने गहन दायित्व रहेको बताए । यस अभियानमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न सरकारलाई सुझाव पनि दिनुभयो । साथै, संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई सुदृढ बनाउँदै समग्र विकास प्रक्रियालाई गति दिनुपर्नेमा उनको जोड छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  १२ : ५६ बजे