२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण



तनहु । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम बनाउन तालिमसँगै कृषि सामग्री पनि वितरण गरिएको छ ।

विद्युत् आयोजनाले रिसिङ–८ पल्ट्याङका मस्टो लाफा भेजा (महिला समूह)का सदस्यलाई लक्षित गरी मगर समुदायका २० जनालाई बेमौसमी तरकारीखेती तथा वित्तीय साक्षरता तालिम प्रदान दिएको हो ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार, प्रशिक्षणमा सहभागी किसानलाई हातेट्याक्टर, बीउबिजन, हजारी तथा ‘टनेल’ खेतीका लागि आवश्यक उपकरण प्रदान गरिएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई यसअघि पनि ‘प्लम्बिङ, इलेक्ट्रिसियन, सिलाइबुनाइ, बाख्रापालन, तरकारीखेती तथा वित्तीय साक्षर तालिम दिइएको थियो ।

हालसम्म यस्तो तालिम ३३९ पुरुष र २७९ जना महिलाले लिइसकेका छन् । प्रशिक्षणको मुख्य उद्देश्य जीविकोपार्जन सुधारमा जोड दिनु रहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ११ : ५३ बजे