काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका सबै नेता–कार्यकर्तालाई एक ढिक्का भएर अघि बढ्न आह्वान गरेका छन् । सर्वोच्च अदालतले गगन थापा नेतृत्वको वर्तमान कार्यसमिततिलाई बैधानिकता दिएपछि सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।
“अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एक ढिक्का भएर अघि बढौँ,” उनले शनिबार सामाजिक सञ्जालमा लेखेका छन् ।
कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार (वैशाख ४)नेतृत्वको कार्यसमितिलाई वैधता दिएको थियो । सर्वोच्चको आदेशले एकताबद्ध भई पार्टीलाई फेरि बलियो बनाउने वातावरण बनेको उनले उल्लेख गरेका छन् ।
तीन कारण देखाउँदै सर्वोच्चले दियो कांग्रेसको नेतृत्वमा गगनलाई वैधता (पाठ)
“सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ,” उनले भनेका छन्, “यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो ।”
अब आ–आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका निम्ति सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उनले बताएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनलाई पार्टी रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न पनि उनले आह्वान गरेका छन् ।





