२ श्रावण २०८३, शनिबार | Sun Jul 19 2026

भानुभक्तको सम्मानमा स्रष्टाहरूको संगम, लिटिल एन्जल्समा विशेष कवि गोष्ठी



ललितपुर । नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुरस्थित लिटिल एन्जल्स स्कुलले २१३ औँ भानुजयन्तीका अवसरमा विशेष कवि गोष्ठी आयोजना गरेको छ।
नेपाली भाषा तथा साहित्यका आदिकवि भानुभक्त आचार्यको योगदानको स्मरण गर्दै विद्यालयले विगत ३४ वर्षदेखि निरन्तर भानुजयन्तीका अवसरमा कवि गोष्ठी आयोजना गर्दै आएको जनाएको छ। नयाँ पुस्तामा नेपाली भाषा, साहित्य, कविता लेखन र सिर्जनशीलताप्रति रुचि जगाउने तथा भानुभक्तको साहित्यिक योगदानलाई जीवन्त राख्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिँदै आएको हो।
कार्यक्रममा देशका २ दर्जन कविहरूले आफ्ना मौलिक कविता वाचन गरेका थिए। उनीहरूले राष्ट्रप्रेम, मानवता, सामाजिक रूपान्तरण, प्रकृति, संस्कृति तथा समकालीन समाजका विविध विषयलाई समेटेर कविता प्रस्तुत गरेका थिए। कवितामार्फत नेपाली भाषा र साहित्यको समृद्ध परम्परा, मौलिक पहिचान तथा सांस्कृतिक मूल्यहरूको संरक्षणमा जोड दिइएको थियो। कार्यक्रम नेपाल सरकारको पूर्व सचिव डा बिमल कोइराला, पूर्व अर्थमन्त्री एसपी कोइराला, कवि, साहित्यकार, कलाकार र पत्रकारको लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लिटिल एन्जल्सका स्कुलका संस्थापक उमेश श्रेष्ठले इतिहासलाई र श्रष्ठाहरुको योगलाई स्मरण गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । नेपाली कांग्रेसका कोषाध्यक्षसमेत रहेका श्रेष्ठले यस्ता मञ्च केवल कविता वाचनमा सीमित नरही देशको विकास, समसामयिक राष्ट्रिय मुद्दामाथि सार्थक बहस गर्ने साझा थलोका रूपमा उपयोग हुनुपर्ने धारणा राख्नुभयो। उहाँले सिर्जनशील बहस र विचार–विमर्शबाट नै राष्ट्र निर्माणका नयाँ दृष्टिकोण र सम्भावनाहरू उजागर हुने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमहरु निरन्तर हुन आवश्यक रहेको औंलाउनुभयो । कार्यक्रमको सञ्चालन गरेको प्रधानाध्यापक मुकुन्दराज शर्माले विद्यालयले शिक्षा सँगसँगै साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई पनि प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  १० : ०९ बजे