२५ भदौ २०८३, बिहिबार | Thu Sep 10 2026

असोज ३ गतेदेखि काठमाण्डौ उपत्यकामा २८ वटा रात्रिकालीन बस सञ्चालन हुने



काठमाण्डौ – संविधान दिवसको अवसर पारेर आउँदो असोज ३ गतेदेखि काठमाण्डौ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार हुने भएको छ ।

विभिन्न ६ वटा नयाँ रुटमा २८ वटा रात्रिकालीन बस सञ्चालन हुन लागेको हो । काठमाण्डौ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलको अध्यक्षतामा हिजो काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका,बुढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, कीर्तिपुर नगरपालिका, साझा यातायात तथा सरोकारवालाबीच भएको बैठकले रात्रिकालीन बस सेवा विस्तार गर्ने निर्णय गरेको हो ।

अहिले काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको समन्वयमा गएको वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन हुँदै आएको छ ।

त्यसलाई विस्तार गर्दै काठमाण्डौ उपत्यकाको उत्तर–दक्षिण तथा पूर्व–पश्चिम क्षेत्रलाई जोड्ने गरी थप रुटमा सेवा सञ्चालन गर्न लागिएको हो । निर्णयअनुसार गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चन्द्रागिरीको नागढुंगासम्म ४ वटा, कीर्तिपुरदेखि न्यूरोड हुँदै नेपाल वायुसेवा निगमसम्म ४ वटा र चक्रपथमा दुईतर्फी सञ्चालन हुने गरी ८ वटा बस परिचालन गरिनेछ ।

चक्रपथमा रात्रिकालीन बस सेवा सञ्चालन भएपछि यात्रु एक ठाउँमा बस परिवर्तन गरेर काठमाण्डौ विभिन्न क्षेत्रमा पुग्न सक्नेछन् । यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँसम्म भाडा लाग्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  १२ : २९ बजे