काठमाडौं । कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइन अन्तर्गतको म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त बनेको थियो ।
नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनर्स्थापना प्रणाली ९ईआरएस० टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो । शनिबार राति सवा १० बजे प्रसारणलाइनको २२० केभीको एउटा सर्किटलाई चार्ज गरी अस्थायी रूपमा सञ्चालनमा ल्याइएको छ ।
बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित प्रसारणलाइनका चारवटा टावरमा क्षति पुर्याएको थियो । तीमध्ये टावर नम्बर २१, २३ र २४ पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने टावर नम्बर २२ मा आंशिक क्षति पुगेको थियो । प्रसारणलाइन अवरुद्ध भएपछि दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका निजी क्षेत्रका पाँच जलविद्युत् आयोजनाबाट उत्पादित कुल १७० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुन सकेको थिएन । लाइन सञ्चालनमा आएसँगै उक्त आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा पुनः जोडिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले प्राधिकरणका कर्मचारीको अहोरात्रको प्रयास र निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूसँगको सहकार्यमा ईआरएस टावर प्रयोग गरी प्रसारणलाइन अस्थायी रूपमा सञ्चालनमा ल्याउन सफलता मिलेको बताए । भौगोलिक रूपमा अत्यन्त जटिल र दुर्गम स्थानमा इआरएस टावर जडान गर्नु चुनौतीपूर्ण भए पनि निरन्तरको प्रयासबाट काम सम्पन्न गर्न सकिएको उनले उल्लेख गरे ।
प्राधिकरणको पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काका अनुसार, ईआरएस टावरमार्फत प्रसारणलाइन सञ्चालनमा ल्याइएपछि बाढीले क्षति पुर्याएका टावरको स्थायी पुनर्निर्माण प्रक्रिया अगाडि बढाइएको छ । स्थायी टावर निर्माण सम्पन्न भएपछि प्रसारणलाइनको दाना–राहुघाट खण्ड नियमित अवस्थामा सञ्चालनमा आउने छ । ।
कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् एकीकृत गरी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्ने उद्देश्यले कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा र रुपन्देही हुँदै नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०को सुनवल नगरपालिका–१३ स्थित नयाँ बुटवल सबस्टेसनसम्म पुग्ने यस प्रसारण लाइनको कुल लम्बाइ करिब १३० किलोमिटर छ । प्रसारण लाइनले करिब एक हजार २०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमता राख्दछ ।





