९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

विज्ञ भन्छन्ः नदी जलाधार क्षेत्रमा उच्च सतर्कता अपनाऔं, जोखिमयुक्त सडक सञ्चालनमा रोक लगाऔं



काठमाडौं । देशभर अस्वाभाविक मनसुनी वर्षा हुने भएकाले नदी जलाधार क्षेत्रको मानव बस्तीमा सतर्कता (फोर्स इभ्याकुएसन) अपनाउन विज्ञहरूले आग्रह गरेका छन्।

बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावको कारण बिहीबार दिउँसोदेखि आइतबारसम्म मेघ गर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले वर्षासम्बन्धी जानकारी आफ्नो वेबसाइटमा राखिसकेको छ।

वर्षाको यो पूर्वानुमानलाई विज्ञले सामान्य मनसुनी वर्षा भन्दा फरक चरित्रको रहेको भन्दै उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएका हुन्।

विशेष गरेर नदी जलाधार क्षेत्रमा मुसलधारे वर्षा हुनसक्ने भएकाले जलाधार तटीय क्षेत्र र आसपासका राजमार्गमा पनि फोर्स इभ्याकुएसन ९सरकारी निकायले हानि नोक्सानी रोक्न बल प्रयोग गरेर बस्ती खाली गर्ने वा यातायात सञ्चालनमा रोक लगाउने गर्नुपर्ने अवस्था० सम्म गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत र सतर्क रहन विज्ञले सुझाव दिएका छन्।

साथै, धान भित्र्याउने समय पनि भएकाले काटिसकेको धान बिहीबार दिउँसोसम्म थन्क्याउन र नकाटेको धानलाई आइतवारसम्म यथास्थितिमा नै राख्न पनि सुझाव दिएका छन्।

त्यसैगरी अत्यावश्यक बाहेकको लामो यात्रा नगर्न पनि विज्ञले सुझाव दिएका छन्।

वर्षाको प्रकृति र पूर्वसतर्कताबारे न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले भारी वर्षाले बाढी, पहिरो र डुबानको समस्या निम्त्याउने भएकाले यसबाट हुनसक्ने हानि नोक्सानी कम गर्न सरोकारवाला निकायसँगै सर्वसाधारण पनि सचेत हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  १ : ०९ बजे