११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

‘रविजी गृहमन्त्री हुँदा ‘कैलाश सिरोहियालाई पक्रेर जनकपुर पठाएँ, अब फलानीलाई पक्रेर ट्रकमा हालेर टिकापुर पुर्याउँछु’ भन्ने दम्भ सुन्नेहरु पनि होलान्’



काठमाडौं । सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेकोमा नेकपा एमालेले आपत्ति जनाएको छ ।

एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक संजालमार्फत रास्वपाका नेता कार्यकर्ता गालीगलौजमा उत्रिनु कृतघ्नताको नमुना भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गोरखा मिडिया नेटवर्कका तत्कालीन कार्यकारी निर्देशक रवि लामिछाने पक्राउ परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीकाविरुद्ध नारावाजी हुनु र गालीगलौज गर्नु अत्यन्त आपत्तिजनक छ । व्यक्तिगत रुपमा दुई पटक रविजीलाई गृहमन्त्री र उपप्रधानमन्त्री बनाइदिने र संसदीय छानबिन समिति बनाउँदा पनि व्यक्तिको नाम किट्नु पर्दैन भन्ने नेताविरुद्ध व्यक्तिगत तहको गालीगलौजमा उत्रिनु कृतघ्नताको नमुना हो ।’

उनले रास्वपाका नेता कार्यकर्तालाई कानुनी प्रतिरक्षाबाहेक विकल्प नभएको भन्दै व्यक्तिगत गालीगलौजले आफैं समस्यामा पर्ने चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘स्मरणमै होला, रविजीलाई सहकारी ठगीमा कारवाही हुनैपर्छ भनेर संसद् अवरुद्ध गर्ने तत्कालीन प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक गृहमन्त्री हुनुहुन्छ । साथै, रविजी गृहमन्त्री हुँदा ‘कैलाश सिरोहियालाई पक्रेर जनकपुर पठाएँ, अब फलानीलाई पक्रेर ट्रकमा हालेर टिकापुर पुर्याउँछु’ भन्ने दम्भ सुन्नेहरु पनि होलान् । यी सबैका बावजुद अदालतको अनुमति लिएर मात्र अघि बढ्ने प्रहरीको कानुनसम्मत कदम ९रविजीका पालामा कैलाश सिरोहियालाई जस्तो पहिले पक्रेर पछि अदालतबाट अनुमति लिएको होइन० सुझबुझपूर्ण र परिपक्व छ । अतः कानुनी प्रतिरक्षाबाहेक रास्वपाका नेता–कार्यकर्ता (विशेषगरी पूर्वकांग्रेसी) हरुले जति व्यक्तिगत गालीगलौज गर्छन्, त्यति गाह्रो मात्रै पर्दै जानेछ ।’

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १० : ३७ बजे