९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

एकीकृत समाजवादीका सबै प्रदेश सम्मेलन मंसिर मसान्तसम्म सकाउन निर्देशन



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आउँदो मंसिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ । पार्टी सचिव सोमप्रसाद पाण्डेयले हाल कायम रहेको प्रदेश कमिटीलाई सम्मेलन सम्पन्न गर्न पत्राचार गरिएको जानकारी दिए ।

देशभर पार्टी संगठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन तोकिएको समयसीमाभित्र सम्मेलन सम्पन्न गरी नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिइएको उनले बताए ।

साथै, पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा रहेको कार्यदलले सबै जनवर्गीय संगठनका प्रदेश इन्चार्ज तोक्न, नेताहरूको कार्यविभाजन, विभिन्न आयोग तथा विभाग गठन गर्न र नेताहरूको अनुभव, योगदान तथा सक्षमताको मूल्यांकन गरी नाम प्रस्ताव गर्ने जनाइएको छ ।

कार्यदलमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारी छन् । नेताहरूको क्षमता, विगतका कार्यसम्पादनको मूल्यांकन गर्न गठित कार्यदलले जिम्मेवारी हेरफेर तथा सांगठनिक कार्यविभाजनको गृहकार्य तथा परामर्श गरिरहेको सचिव पाण्डेयले बताए ।

पार्टीका असन्तुष्ट नेतासँग छलफल गरी छिट्टै जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरिने जनाइएको छ ।

समान विचारधारा भएका, कम्युनिस्ट पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरूसँग कार्यदलले छलफल गरेको पोलिटब्युरो सदस्य मोहन गौतमले जानकारी दिए ।

कम्युनिस्ट नेता वामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीबीच एकीकरणको गृहकार्य भइरहेको र नेता गौतमले जनताको बहुदलीय जनवाद, कार्यकारी तथा प्रत्यक्ष निर्वाचित सरकार प्रमुखजस्ता विषयमा लिखित प्रतिबद्धता माग गरेकाले थप छलफल गरी निष्कर्षमा पुग्ने उनले बताए । रासस

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ८ : ०१ बजे