सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका(२, भक्तिपुर मियाँखोरमा पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालिएको छ ।
मियाँखोरस्थित सडक छेउमा रहेको सरस्वती माध्यमिक विद्यालयको पोखरीमा बयलवासबाट महोत्तरीको गौशालातर्फ जाँदै गरेको कार अनियन्त्रित भई खस्दा कार चालक गौशाला नगरपालिका(२, महोत्तरीका ३७ वर्षीय सुरेश महतो र कारमा सवार सोनमा गाउँपालिका(८, महोत्तरीका ३७ वर्षीय रामाकान्त ठाकुर बेपत्ता भएका थिए ।
बेपत्ता महतो र ठाकुरलाई पोखरीभित्र डुबेको कारबाट मृत अवस्थामा बाहिर निकालिएको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीबाट गएको गोताखोर टोलीले पानीमा डुबेको कारबाट दुवै जनाको शव निकालेको हो ।
मृतक दुवैको शव घटनास्थलको प्रकृति मुचुल्का गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भइरहेको छ ।
कारमा सवार ३१ वर्षीय जनक यादव भने सकुशल छन् ।