स्याङ्जा । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई जोगाएर लामो समय लैजान आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
गठबन्धन अहिलेको आवश्यक्ता भएको भन्दै सभापति देउवाले यसलाई लामो समयसम्म लैजान कांग्रेस प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् । काँग्रेस स्याङ्जाको जिल्ला सम्मेलनको सदरमुकाममा बुधबार उदघाटन गर्दै सभापति देउवाले अहिले कुनै पार्टीको पनि बहुमत आउने अवस्था नरहेको बताए।
उनले भने, “हामीले समानुपातिक निर्वाचन व्यवस्था अङ्गालेका छौं, यो अवस्थामा एक दलको बहुमत आउन धेरै कठिन हुन्छ, त्यसैले गठनबन्धन अनिवार्य रहेको छ ।” पूर्व प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले युवापुस्तालाई स्वदेशमा नै रोक्न जरुरी रहेको बताए।
स्वरोजगार लगायतका कार्य गरेर उनीहरुलाई यही रोक्नु पर्छ, उनले भने । नयाँ व्यवस्था आएसँगै देशमा विकासले गति लिएको भन्दै सभापति देउवाले यही शासन व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए।
पछिल्लो समय महिला, जनजाती तथा पछाडि परेको समुदायलाई विशेष स्थान दिइएको भन्दै उनीहरुलाई अगाडि बढाउन समानुपातिक र समावेशी सिद्धान्त ल्याइएको उनको भनाइ छ ।
पहाडी जिल्लामा विकासको नीति बनाउन सुझाव दिनुहुँदै सभापति देउवाले जलस्रोत र स्थानीय स्रोत साधनको सही सदुपयोग गर्नुपर्ने बताए। कांग्रेस कार्यकर्तालाई निरास नहुन आग्रह गर्दै सभापति देउवाले कांग्रेसले सवैलाई मिलाएर लैजाने र देशको विकास गर्ने बताए ।
सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले देशको विकासका लागि कांग्रेस एकजुट हुनुपर्ने बताए ।
काँग्रेसका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा रहेको सीमित स्रोत र साधनको प्रयोग गर्दै अगाडि बढिरहेको बताए। काँग्रेस विधानअनुसार चल्ने पार्टी भएको भन्दै मुख्यमन्त्री पाण्डेले सबै पार्टीका सदस्यले आ–आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्नुपर्नेमा जोड दिए।
सम्मेलनमा काँग्रेस स्याङ्जाका सभापति तथा संघीय सांसद राजु थापा, उपसभापति केदार काफ्ले, सचिवहरु गुरुप्रसाद भट्राई र दामोदर लम्सालले विभिन्न प्रतिवेदनहरु पेश गरेका थिए ।