१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

बिआरआईबाट ऋण होइन, अनुदानको अपेक्षा छ: गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिआरआई नयाँ सम्झौता नभएर पुरानै भएकाले त्यसलाई अब टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन्।

बिआरआईका बारेमा उठ्ने गरेको आशंका र अनावश्यक हल्ला चिर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल हुने उनको विश्वास छ।

प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन्।

‘विकासका लागि ठूलो पुँजीको आवश्यकता पर्ने भएकाले हाम्रा मित्र राष्ट्रहरूबाट अहिलेलाई ऋण नभई अनुदान सहयोगको अपेक्षा राखेका छौं,’ विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँग महामन्त्री थापाले भने।

फरक प्रसंगमा महामन्त्री थापाले कांग्रेस र एमालेबीच असार १७ मा भएको ७ बुँदे सहमतिलाई संस्थागत गर्न दुवै दलबीच राजनीतिक संयन्त्र बनेको पनि बताए।

संविधान संशोधनको विषयमा पहिले कांग्रेस र एमालेबीच साझा धारणा बन्ने र त्यसपछि अन्य दलहरूसँग छलफल हुने पनि उनले जानकारी दिए।

कसैले चाहेर पनि संविधानको मूलभूत विषयमा संशोधन नहुने उनको भनाइ छ। ‘कांग्रेसले संविधानको मर्म र भावना एवं पञ्चशीलको सिद्धान्तअनुसार सबै राष्ट्रसँग मित्रवत् सम्बन्ध राख्नेछ,’ उनले भने।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ३ : ३७ बजे