२६ श्रावण २०८३, मंगलबार | Wed Aug 12 2026

दरवाङ–बिम–दिच्याम सडक आयोजना सुरु



म्याग्दी । म्याग्दीको मालिका गाउँपालिको दरवाङ–बिम–दिच्याम सडक आयोजना निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत दरवाङ–बिम–दिच्याम सडकअन्तर्गत खारा–बिम–डाँडागाउँ खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो ।

गत असारमा ११ करोड १९ लाख ९० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको सर्वशक्ति महामाया प्रालिले यसै महिनादेखि सडक स्तरोन्न्तिका लागि प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताए ।

ठेक्काको अवधि दुई वर्षको रहेको छ । विसं २०६७ मा तत्कालीन जिविस, बिम गाविस र स्थानीयवासीको चन्दा संकलनबाट बिम जोड्ने करिब सात किलोमिटर सडक निर्माण भएको थियो ।

हाल तीन दशमलव पाँचदेखि पाँच मिटर फराकिलो सडकलाई सात मिटर फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ढलान, ग्राभेल र कालोपत्र गरिने भएको छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १२ : ०९ बजे