काठमाडौं । ब्राजिलको ग्रामाडो सहरमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । उनीहरू सबै एकै परिवारका सदस्य रहेको बताइएको छ ।
आइतबार बिहान ब्राजिलका व्यापारी लुइज क्लाउडियो ग्यालेजीले त्यसलाई उडाएका थिए ।
दुर्घटनामा उनी, उनकी श्रीमती, तीन छोरी र परिवारका अरू सदस्यको मृत्यु भएको छ । उनको कम्पनीका तर्फबाट एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिइएको हो ।
यो सानो विमान पहिले भवनको चिम्नीमा र त्यसपछि घर र पसलमा ठोक्किएको बताइएको छ । दुर्घटनामा उक्त क्षेत्रका भवनमा पनि क्षति पुगेको छ ।
यो दुर्घटनामा १७ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । तीमध्ये दुईजनाको अवस्था चिन्ताजनक छ ।
ब्राजिलका सञ्चारमाध्यमका अनुसार, ६१ वर्षीय व्यापारी गालेज्जी आफ्नो परिवारलाई यात्रामा लिएर जाँदै थिए । प्रतिकूल मौसमका कारण विमान दुर्घटना भएको बताइएको छ ।