२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै



मनाङ । घुम्न लायक स्थानको रुपमा विश्व माझ परिचित मनाङमा विदेशी पर्यटकको मोह बढ्दो छ । स्वदेशी पर्यटकको तथ्याङ्क नराखिए पनि विश्वका पर्यटकको तथ्याङ्क अभिलेखीकरण गरिंदै आएको छ ।

विश्वका पर्यटकको आकर्षणको गन्तव्यका रुपमा विकास हुँदै गएसँगै वार्षिक रुपमा यहाँ आउने पर्यटकको सङ्ख्या पनि बृद्धि हुँदै गएको छ ।

विश्वको जोखिमयुक्त भनेर पहिचान गरिएको अन्नपूर्ण पदमार्ग यात्रामा आउने विदेशी पर्यटकको आकर्षण तथा रोजाईमा मनाङ प्राथमिकतामा पर्ने गरेको हो ।

सन् २०२४ अर्थात् एक वर्षको अवधिमा मनाङमा ३० हजार आठ सय ६६ पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाई मनाङको तथ्याङ्कमा उल्लेख छ ।

एक वर्षमा १८ हजार चार सय ९९ पुरुष र १२ हजार तीन सय ६२ महिला तथा पाँच जना अन्य विदेशी नागरिक भित्रिएका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए ।

तीन वर्षको वार्षिक तथ्याङ्कअनुसार हालसम्म बढी मात्रामा फ्रान्सका नागरिक मनाङ भ्रमणमा आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए ।

पर्यटक हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नका साथै अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् ।

कोभिडको संक्रमण र विसं २०७८ को बाढीपहिरा पछि यहाँ पर्यटक आवागमनमा बृद्धि हुँदै गएको पर्यटन ब्याबसायी बताउँछन् ।

पछिल्लो समय मोटर बाटो र पदमार्ग एयटै हुदा पदयात्रीलाइ कठिन भएको र पदमार्ग र सडक छुट्टाछुट्टै भएमा सहज हुने पर्यटकको भनाइ छ ।

कोभिड र बाढिपहिरोले थलिएको मनाङको पर्यटन ब्यावसाय यस बर्ष भने पुरानै लयमा फर्किएको छ जसले गर्दा यहाँ पर्यटकको हब बन्दै आएको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  १२ : ४७ बजे