काठमाडौँ । यस बर्ष कमला कार्की स्मृति प्रतिष्ठानले पत्रकारिता पुरस्कारबाट पत्रकार पुष्पा शर्मालाई सम्मान गरेको छ । प्रतिष्ठानले शनिबार ब्राइट फ्युचर माविमा एक समारोहको आयोजना गरि नेपाली इस्यूका सम्पादक शर्मालाई नगद पुरस्कार सहित सम्मान गरेको हो । राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रमा लामो समय योगदान पुर्याएको भन्दै शर्मालाई नगद रु १५ हजार १ सहित सम्मानपत्र प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । नेपाल प्रेस युनियनकी केन्द्रिय सचिव समेत रहेकी शर्मा यस अघि न्युज २४ टेलिभिजन सिनियर न्युज तथा प्रोगाम प्रेजेन्टर, रेडियो नेपाल घटना बिचारको सह-संयोजक, संकल्प खबरको उप-सम्पादक, हिमालय टेलिभिजन, रेडियो एबीसी गरी १ दशक भन्दाबढी समय पत्रकारिता क्षेत्रमा कार्यरत छन् ।
त्यस्तैगरी सामाजिक अभियन्ता एलिना महर्जन, राष्ट्रिय बक्सिङ खेलाडी ललिता महर्जनलाई जनही १५ हजार १ रुपयाँ तथा संस्थागत रुपमा नेवारी लोक संस्कृतिको संरक्षण तथा प्रर्वद्धनमा योगदान पुर्याएको भन्दै बन्ध वा मिसा पुचलाई १ लाख १ रुपँया सहित सम्मान गरिएको छ । सम्मानित ब्यक्ति तथा संस्थाहरुलाई आमाको घरकी संस्थापक अध्यक्ष दिलशोभा श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष मोहन कार्कीले संयुक्त रुपमा सम्मान गरेका हुन् । महिलाहरुलाई बिभिन्न क्षेत्रमा ऐतिहासिक काम गर्न उर्जा प्रदान गरोस् भन्ने हेतुका साथ यस्ता कार्यक्रम राखिएको अध्यक्ष कार्कीले बताए । उनले भने, “हामीले राष्ट्रलार्ई योगदान गर्ने बिभिन्न क्षेत्रका राष्ट्रिय पहिचान भएका ब्यक्तिहरुलाई सम्मान गर्ने गरेका छौँ । बिशेषत महिलाहरुलाई आफ्नो क्षेत्र दरिलो पहिचान बढाउन थप उर्जा मिलोस् भन्ने हाम्रो अभिप्राय हो । आगामी दिन पुरस्कार राशी बढाउने योजनामा समेत रहेको छौ ।”
कार्की प्रतिष्ठानले बिगत ९ बर्षदेखी चन्द्रागिरि नगरपालिकामा बसोबास गर्ने बिभिन्न क्षेत्रका राष्ट्रिय ख्याति प्राप्त ३ जना महिला तथा महिलासँग सम्बन्धित रहेर काम गर्ने एक जना सामाजिक संस्था र दुई जना जेष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य, कृष्णगोपाल श्रेष्ठ, बाग्मती प्रदेश सांसद केशव पोखरेल,चन्द्रागिरि नगरपालिका उपमेयर बसन्ती श्रेष्ठ, नगरपालिका वडाअध्यक्षहरु, साहित्यकार डा.नवराज लम्साल लगायतको उपस्थिति रहेको थियो ।