९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

धरानमा सुर्तीजन्य वस्तु किनबेचमा प्रतिबन्ध



सुनसरी । धरानमा सुर्तीजन्य वस्तु किनबेचमा प्रतिबन्ध लगाइएको छ । बिहिबार बसेको धरान कार्यपालिका बैठकले धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तीजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको हो ।

उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि खैनी, गुट्खा, चुरोटलगायत सुर्तीजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले जानकारी दिए ।

कार्यपालिका बैठकले गरेको निर्णयानुसार एक महिनाभित्र सार्वजनिकस्थलबाट सुर्तीजन्य वस्तु पूर्ण रूपमा नहटाए जफत गरेर कानुनबमोजिम जरिवाना गरिने उनले बताए ।

नगरप्रमुख राईले भने, “बजार क्षेत्रमा जथाभावी सुर्तीजन्य पदार्थ किनबेच हुँदा एकातिर मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको र अर्कातिर गुट्खा, खैनी आदिका बट्टा जथाभावी फालिने हुँदा फोहर बढ्नुका साथै दुर्गन्ध बढी भई मानव स्वास्थ्यमा ठूलो असर पुग्ने भएकाले प्रयोगमा रोक लगाइएको हो ।”

धरानका उपमहानगरपालिका क्षेत्रका सडक, पुस्तकालय, सार्वजनिक शौचालय, व्यायामशाला, अस्पताल, शैक्षिक संस्था, धर्मशाला, धार्मिकस्थलजस्ता क्षेत्रमा सरसफाइ गर्दा चुरोट, बिँडी, प्लास्टिकमा प्याक गरिएका सुर्ती, खैनी, गुट्खा, पानपरागका खोलजस्ता वातावरणलाई दुर्गन्धित बनाउने फोहरमैला अत्यधिक मात्रामा भेटिन थालेपछि यस्ता वस्तु प्रयोगमा रोक लगाउनुपरेको नगरप्रमुख राईको भनाइ छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ८ : १४ बजे