२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

अमेरिकामा टिकटक एप बन्द !



काठमाडौं । अमेरिकामा सामाजिक सञ्जाल एप टिकटक बन्द गरिएको छ । प्रतिबन्ध लागु हुनुभन्दा केही घण्टाअघि नै सो एप बन्द भएको हो । आइतबार बिहानदेखि अमेरिकाभरि टिकटक बन्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उद्धित गदै बीबीसी हिन्दीले लेखेको छ ।

अमेरिकी प्रयोगकर्ताले टिकटक खोल्दा ‘तपाईंले टिकटक प्रयोग गर्न सक्नु हुन्न’ भन्ने सन्देश देखिरहेका छन् ।

यसको पछाडि एपले प्रतिबन्ध लगाउने अमेरिकी कानुनलाई उद्धृत गरेको छ । धेरै प्रयोगकर्ताले गुगल एप स्टोरबाट टिकटक हटाइएको र टिकटक डटकममा भिडियोहरू पनि नदेखिएको बताए ।

टिकटकले भनेको छ, “हामी भाग्यमानी छौँ कि ट्रम्पले पदभार ग्रहण गरेपछि टिकटक पुनः सुरु गर्ने समाधानमा हामीसँग काम गर्ने संकेत गरेका छन् ।”

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट ९० दिनसम्म छुट दिन सक्ने बताएका छन् ।

अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो । अमेरिकी सरकारले टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनीलाई बाइटडान्सलाई टिकटक कि अमेरिकालाई बेच्नुपर्ने कि अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने बताएका थिए।

त्यसविरूद्ध परेको मुद्दामा शुक्रबार अमेरिकी उच्च अदालतले सरकारको सोही निर्णयको सदर गरेपछि अमेरिकामा टिकटक बन्द भएको हो ।

एजेन्सीको सहयोगबाट।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  १२ : ०१ बजे