पर्वत । पर्वतमा अवैध लागु औषधको कारोबार बढ्दो क्रममा रहेको देखिएको छ । गएको त्रिवर्षीय तथ्याङ्क आकलन गर्दा पर्वतमा लागु औषधको कारोबार बढ्दो क्रममा देखिएको हो । चालु आर्थिक वर्षको ७ महिनामा मात्रै पर्वत प्रहरीले अवैध लागू औषध ओसारपसारमा संलग्न ७ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ती ७ जना व्यक्तिबाट विभिन्न प्रकारका ६ सय ७२ एम्पुल अवैध लागू औषध समेत बरामद गरेको छ ।
बरामद भएको लागू औषधको यो परिणाम अघिल्ला आर्थिक वर्ष २०७९।०८० र ०८०।०८१ को भन्दा बढी रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७९।८० मा ११ जना कारोबारीलाई नियन्त्रणमा लिई ९ सय १९ थान विभिन्न प्रकारका लागू औषध बरामद गरेको थियो भने ०८०।८१ मा २ जना पूरुष २ सय १५ थान लागू औषध नियन्त्रणमा लिएको थियो ।
पछिल्लो समय अवैध लागू औषधको कारोबार रोकथाममा प्रहरीले सक्रियता बढाएपछि बरामद हुने लागू औषधको परिणाम बढेको हो । लागू औषध कारोबार गर्ने व्यक्तिहरूले युवतीहरूको प्रयोग गरेर कारोबार गर्ने समेत पाइएको छ । चालु आर्थिक वर्षमा पक्राउ परेका ७ जना मध्ये ५ जना महिला मात्रै रहेका छन् । तीन बर्ससम्मको तथ्याङ्क हेर्ने हो भने पक्राउ परेका २० जना मध्ये ६ जना महिला रहेका छन् ।
प्रहरीले दिएको तथ्याङ्क अनुसार पोखरा बागलुङ सडक मार्ग भित्र अवैध कारोबार बढी भएको पाइन्छ । पर्वतका सात स्थानीय तह मध्ये मुख्य सडक मार्गले छोएका कुस्मा नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिकाबाट कारोबारीहरू प्रहरी फन्दामा परेका छन् । अन्य पालिकाबाट भने लागू औषध कारोबारीहरू नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिए ।
पछिल्लो समयमा नियन्त्रणमा आएका लागू औषध कारोबारीहरूबाट विभिन्न सूचनाहरू प्राप्त भएका कारण अझै धेरै यसको कारोबार गर्नेलाई नियन्त्रणमा लिन सकिने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख रविन विष्टले जानकारी दिए।
लागू औषधका कारोबारीहरूलाई खोजी गर्ने अभियान प्रहरीले सञ्चालन गरे पनि अरू निकायको भने यसमा ध्यान गएको देखिदैन् । लागू औषध दुब्यर्सनीका कारण कतिपय आपराधिक घटनाहरूमा समेत वृद्धि भएको प्रहरीको तथ्याङ्क छ ।





