काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरु बिभिन्न बिषयहरु उठान गरेका छन् । नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले हात्ती आतंकबाट नागरिकलाई सुरक्षित राख्न सरकारको ध्यानाकर्षण गराएकी छन् । संघीय संसद् प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद प्रसाईंले झापाका जनता हात्ती आतंकबाट जिउधन रक्षाका लागि याचना गरिरहेको बताइन् ।
“झापा जिल्लाका वडावडामा यतिबेला हात्ती आतंक छ । बुद्धशान्ति नगरपालिकामा त घरघरमा आक्रमण गरेर घरभित्र राखेका धानको बोरा फालिदिएको छ,” प्रसाईंले भनिन्, “जनता हात्तीबाट असुरक्षित हुँदा मर्निङवाकमा समेत निस्किन सकेका छैनन् । जनताले राखेको ढुकुटीको धनसमेत सुरक्षित भएन ।”
उनले शान्ति सुरक्षा दिने दायित्वबाट नपन्छिन सरकारको ध्यानकर्षण गराइन् । “जनताको धनजनको संरक्षणका लागि शान्ति सुरक्षाको माग गर्दछु,” प्रसाईंले भनिन् । यस्तै संसदमा छुवाछुत व्यवस्था हटाउनुपर्ने, बालिका बलात्कृत गर्नेमाथि हदैसम्मको कानूनी कारबाही गरिनुपर्ने लगायतका माग गरिएको छ ।





