१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

खोई संसदको बिजनेस ?



काठमाडौँ । सङ्घीय संसदका दुवै सदनमा गरेर अहिले पनि २३ विधेयक विचाराधीन छन् । तीमध्ये राष्ट्रिय सभामा तीन र प्रतिनिधि सभामा २० वटा विधेयक छन् । राष्ट्रिय सभामा २०७६ देखिको अध्यागमन विधेयक पनि अघि बढेको छैन ।

यस्तै प्रतिनिधि सभामा पनि २०७६ देखिकै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक, भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकलगायत विचाराधीन छन् । हिउँदे अधिवेशनमा पनि विचाराधीन विधेयकमध्ये सम्पत्ति शुद्धीकरणसम्बन्धी बाहेक अन्यको प्रतिवेदन पेस हुने अवस्था छैन । समितिका विचाराधीन अन्य विधेयकमध्ये अधिकांशको दफाबार छलफलसमेत सुरु भएको छैन ।

यसैबीच सङ्घीय संसद्को हिउँदे अधिवेशनको कार्य ९बिजनेस० व्यवस्थापनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कानुन मन्त्रालयसँग परामर्श गरेका छन् । प्रधानमन्त्री प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटासहितसँग आउँदो अधिवेशनको बिजनेसबारे छलफल गरेका हुन् । यही माघ २२ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनमा पेस हुने विधेयकलगायतबारे प्रधानमन्त्रीले चासो राखे ।

सङ्घीय संसद्को अघिल्लो अधिवेशनले बजेटबाहेक एक मात्र विधेयक पारित भएपछि आलोचना भएको थियो । आउँदो अधिवेशनलाई प्रभावकारी बनाउन सरकारका तर्फबाट हुने बिजनेसको तयारीका लागि पनि प्रधानमन्त्रीले निर्देशन दिए

मन्त्रालयको टोलीलाई निर्देशन दिँदै प्रधानमन्त्रीले भने, “अघिल्लो वर्ष संसद्ले कानुन निर्माणमा उदाहरणीय काम गर्न सकेन भन्ने समीक्षा छ । सरकारले पनि बिजनेस दिएन भन्ने मत पनि छ । तर यस पटक त्यस्तो नहोस् । संसद् सुरु हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयक दर्ता गर्ने गरी तयारी गरौँ । मुख्यसचिवले फलोअप गर्नुहोला । मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गरेर विधेयक ल्याउनुहोला । राम्रो तयारी गर्नुहोला । यस पटक संसद्लाई व्यवस्थित रूपले बिजनेस दिनु पर्छ । गुनासो नआउने गरी काम गर्नुहोला ।”

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १० : २२ बजे