लमजुङ । महाशिवरात्रि पर्वको अवसरमा लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित प्रसिद्ध धार्मिक स्थल इशानेश्वर महादेव मन्दिरमा बुधबार बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ ।
मन्दिरमा रहेको शिवलिंगमा बेलपत्र र दूध चढाउन, पूजा अर्चना गरी बत्ती बाल्न र दर्शन मात्र गर्नका लागि बिहान चार बजेदेखि नै दर्शनार्थीहरुको घुइँचो लागेको हो ।
सन्तानेश्वर महादेवका नामले समेत पूजाआराधना हुने इशानेश्वर महादेव मन्दिरमा विशेषगरी दूध चढाउन र बत्ती बाल्न भक्तजनहरु आउने गर्दछन् । महाशिवरात्रि पर्वका अवसरमा यहाँ दूध चढाउने र ठाडो बत्ती बाल्ने चलन छ ।
इशानेश्वर महादेवको दर्शन गरी पूजा अर्चना गर्दा सन्तान नहुनेलाई सन्तान प्राप्त हुने विश्वासले मन्दिरमा ठुलो संख्यामा भक्तजनहरुको भीड लाग्ने गर्दछ । शिवको पुजा आराधना गर्न टाढाटाढाका भक्तजनहरु इशानेश्वरमा आएका छन् । बेलपत्र, समीपत्र, पञ्चामृत, गङ्गाजल, श्रीखण्डले शिवको पूजा अर्चना गर्दा लाभ मिल्ने विश्वासका साथ युवा युवतीदेखि वृद्धवृद्धा समेत करापुटार आइपुगेको स्थानीय सुरज गुरुङले जानकारी दिनुभयो ।
भक्तजनको संख्या अघिल्लो बर्षको तुलनामा यसवर्ष वृद्धि भएको करापुटार क्षेत्र विकास समितिले जनाएको छ । मन्दिरमा लमजुङसँगै तनहुँ, कास्की, गोरखा, धादिङ, चितवनदेखि काठमाडौँबाट पनि ठूलो संख्यामा भक्तजन आएका छन् ।





