८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवाना



काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका व्यवसायी इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ जरिवाना तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गर्दै उक्त फैसला सुनाएको हो ।

अदालतले आज सजाय निर्धारण गर्दा पूर्वसांसद तामाङलाई तीन वर्ष कैद, बिगोबमोजिम एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ जरिवाना हुने फैसला गरेको हो ।

सिभिल सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका तामाङलाई यही माघ ७ गते अदालतले दोषी ठहर गर्दै आज सजाय निर्धारणका लागि पेसी तोकेको थियो ।

उनकी श्रीमती सिर्जना शाक्य तामाङलाई एक वर्ष ६ महिना कैद र एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।

सोही मुद्दाका केशवलाल श्रेष्ठको एक वर्ष ६ महिना कैद र २५ करोड ६५ लाख ८६ हजार १२४ रुपैयाँ बिगो तिर्नुपर्ने फैसला गरेको छ ।

अदालतले इच्छाराज तामाङ, सृृजना शाक्य तामाङ, केशवलाल श्रेष्ठ, मीना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने फैसला गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष तामाङसहित निजको परिवारका छजनाविरुद्ध २०७९ साल भदौ १६ गते मुद्दा दायर गरेको थियो । रासस

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १० : १२ बजे