२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

आकस्मिकबाहेक सबै सेवा ठप्प गरेर चिकित्सकहरु सडकमा



काठमाडौँ । नेपाल चिकित्सक सङ्घले शुक्रबार आकस्मिक तथा सघन उपचार सेवाबाहेक सबै सेवा ठप्प गरेर आन्दोलमा आउन आह्वान गरेको छ ।

सङ्घले विज्ञप्ति जारी गर्दै शुक्रबार सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, क्लिनिकलगायत बन्द गरेर आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान गरेको हो ।

बिहीबार माइतीघर मण्डलामा आन्दोलनरत चिकित्सक र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलसँग गरिएको संवादबाट कुनै निकास ननिस्केपछि सङ्घले यस्तो निर्णय गरेको हो ।

नेपाल चिकित्सा शिक्षा आयोगको १६ औँ बैठक अनुसार सरकारी आठौँ तह बराबरको भत्ता दिन माग गर्दै निजी मेडिकल कलेजका आवासीय चिकित्सक ३०औँ दिनदेखि आन्दोलनमा उत्रिदा पनि राज्यबाट कुनै सुनुवाइ नभएपछि सबै सेवा ठप्प पार्न बाध्य भएको सङ्घका अध्यक्ष डा। अनिल बिक्रम कार्कीले जानकारी दिनुभयो ।

सङ्घले बुधबार २४ घण्टाभित्र आफ्ना माग सम्बोधन नभएमा १२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने चेतावनी दिइएको थियो ।

सङ्घले शुक्रबार उपत्यका चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य मन्त्रालय घेराउ गर्ने र उपत्यका बाहिरका चिकित्सक तथा स्वास्थ्यकर्मीले जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : ४७ बजे