सर्लाही । जनता समाजवादी पार्टी ९जसपा० नेपालकी नेतृ डा। बबीसिंह यादवले विवाहको हल्दी मेहन्दीमा पड्काएको पेस्तोल ‘नक्कली’ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
उक्त पेस्तोल बिहीबार दिउँसो सर्लाही प्रहरीले बरामद गरेको छ। सप्तरीको बोदेबरसाइन नगरपालिका–५, घर भएकी नेतृ यादवले सर्लाहीको मलङ्गवा नगरपालिका–५, भाडसरमा आएर विवाहको हल्दी मेहन्दीमा पेस्तोल पड्काएको भिडियो बिहीबार बिहानैदेखि टिकटिक र अन्य सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।
अन्य केही आफन्तसँग नाच्दै गर्दा यादवले पेस्तोल पड्काएको भिडियो भाइरल भएपछि उहाँलाई बिहीबार सप्तरी प्रहरीले जिल्ला प्रहरी कार्यालय राजविराजमा बोलाएर सोधपुछ गरेको छ। त्यसक्रममा यादवले उक्त पेस्तोल सर्लाहीमा आफन्तको विवाहमा आउँदा पड्काएको स्वीकार गरेपछि सप्तरी प्रहरीले सर्लाही प्रहरीलाई जानकारी गरायो।





