२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

आगामी निर्वाचन कांग्रेसले एक्लै लड्छ : शेखर



बिर्तामोड । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले आगामी निर्वाचनमा वडादेखि केन्द्रसम्म कांग्रेसले एक्लै चुनाव लड्ने बताएका छन् ।

समुदायमा कांग्रेस अभियान अन्तर्गत सोमवार झापा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता कोइरालाले आगामी निर्वाचन एक्लै लड्ने भएकाले सोहीअनुसार तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।
महाधिवेशनमा गुटगत राजनीति देखिनु स्वाभाविक भए पनि त्यसको तिक्तता आम निर्वाचनमा पोखिदा समस्या उत्पन्न भएको बताउँदै नेता कोइरालाले वैचारिक गुटलाई पार्टी सङ्गठन बलियो बनाउन लगाउनुपर्नेमा जोड दिए । अहिलेको निर्वाचन प्रणाली नै गठबन्धन नगरी सरकार बन्ने अवस्था नरहेको बताउँदै उनले आफू निर्वाचनपछिको गठबन्धनका पक्षमा रहेको धारणा राखे ।

नेता कोइरालाले कोशी प्रदेश सरकारको नेतृत्व अन्य दललाई दिनु हुँदैन भन्नेमा आफू स्पष्ट रहेको बताउँदै पार्टीको जो–कोही आए पनि आफ्नो विरोध रहँदैनथ्यो भने। राजनीतिमा सङ्कीर्ण मानसिकता राख्न नहुने बताउँदै उनले सबै विचार र आस्थाका व्यक्तिसँगको निरन्तर भेटघाट र विचार मन्थनपछि नयाँ विचार पस्कन सकिने बताए ।

उनले आफू हिन्दुवादी नागरिक भए पनि राज्यको कुनै धर्म हुनु नहुने बताए । पछिल्लो समय धर्म निरपेक्षताको आडमा व्यक्तिको आस्था, संस्कार र संस्कृतिमाथि नै प्रहार हुन थालेकोप्रति भने आफू दुःखी रहेको कोइरालाले बताए ।

देशमा कृषि उद्योग स्थापना गरेर रोजगारीको सिर्जना अहिलेको आवश्यकता रहेको भन्दै नेता कोइरालाले विपन्नले कृषि अनुदान नपाउने अवस्थाको अन्त्य गर्न माग समेत सरकारसँग माग गरे । नेतालाई प्रजातन्त्र आए पनि जनतालाई नआएको भन्दै जनतालाई प्रजातन्त्र र सुशासनको प्रत्याभूति दिन सकेपछि मात्र देशमा प्रजातन्त्र आएको अनुभूति हुने बताए ।

नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले समुदायमा पार्टी स्थापित गरेर एक्लै निर्वाचनमा जानुपर्ने बताए । नेताको निर्देशन र निगाहमा अवसर पाउने प्रवृत्तिले पार्टीलाई क्षति पुगेको थापाले बताए ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ८ : ४४ बजे